जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजायको फेसला गरेको छ।
बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले यस्तो फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले जानकारी दिए।
किशोरसँगै सामूहिकरुपमा बलात्कारमा संलग्न अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको छ।
६ चैत २०७६ मा उनीहरुले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेका थिए। अभिभावकले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए। प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर मुद्दा चलाएको थियो।
बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको छ भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले जनाएको छ।
जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाइने छ।
प्रतिक्रिया