ad ad

समाज


एक सय ४५ महिला र बालबालिका हराए

एक सय ४५ महिला र बालबालिका हराए

नेपालखबर
साउन १४, २०७६ मंगलबार १५:१६,

बाजुरामा महिला तथा बालबालिका हराउने क्रम वर्षेनी बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएका आधारमा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्यांकमा रहेको छ। तिन आर्थिक वर्षमा १४५ महिला तथा बालबालिका हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकराज ढुंगानाले जानकारी दिएका छन्।

उनले दिएको जानकारीअनुसार आव ०७३/०७४ मा महिला र बालबालिका गरी ६१ जना हराएको उजुरी दर्ता भएका छन्। यसैगरी ०७४/०७५ मा महिला र बालबालिका गरी २७ जना हराएका छन्। गत आव ०७५/०७६ असारसम्ममा बालक २० जना, बालिका जना र महिला १९ जना गरी ५७ जना हराएको उजुरी परेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

हराएका महिला र बालबालिका आव ०७३/०७४ मा ३२ जना र ०७४/०७५ मा १३ जना रहेका छन्। घरबाट हराएका महिला तथा बालबालिकामध्ये खोजी कार्य जारी रहेका छन्। खोज तलासमा रहेका आव ०७३/०७४ मा २७ जना महिला र बालबालिका, ०७४/०७५ मा १४ जना व्यक्ति महिला र बालबालिका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन्।

यस्तै आव ०७५/०७६ गत वर्षमा हराएका महिला तथा बालबालिकामध्येका खोजी कार्यबाट फेला परेका बालक १९ जना, बालिका १५ जना र महिला आठ जना गरी ४२ जना भेटिएका छन्।

आफन्तसँग बुझाएका यस्तै सोही वर्ष खोज तलास प्रक्रियामा रहेका एक बालक, तीन बालिका र ११ महिला गरी १५ जनाको खोजी कार्य भइरहेको प्रहरी स्रोतको दाबी छ।

जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका इलाका र प्रहरी चौकीमा उजुरी नआएका तर बेवारिसे अवस्थामा फेला पारिएका महिला तथा बालबालिकामध्ये बालक चार जना र बालिका चार जना गरी सात जना रहेका छन्।

गएको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सम्पूर्ण जिल्लाका सार्वजनिक निकायका सूचना अधिकारीको सार्वजनिकीकरण तथा बैठकमा सूचना अधिकारी ढुङ्गानाले जिल्लामा गएको आवमा बेपत्ता भएका महिला तथा बालबालिकाको अवस्था यस्तो रहेको तथ्याङ्क सार्वजनिक गरेका हुन्।।

प्रहरीले बेपत्ता भएका र सम्पर्कमा नआएका महिला तथा बालबालिकाको खोजी कार्यका लागि प्रहरीले विभिन्न माध्यमबाट खोजी कार्य जारी राखेको छ। आव ०७३÷०७४ र ०७४÷०७५ मा हराएका महिला र बालबालिकामध्येका उनीहरुका अभिभावकले बालक, बालिका र श्रीमती हराएको उजुरी दिएको र खोजी कार्य गर्दा नभेटिए पनि आफैँ सम्पर्कमा आएका कारण उनीहरुले भेटिएको खबर नदिँदा उक्त सङ्ख्या यथावत् रहेको प्रहरी निरीक्षक ढुङ्गानाले राससलाई बताए।

घरेलु हिंसा न्यूनीकरणमा प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय घरेलु हिंसा न्यूनीकरणमा सक्रिय देखिएको छ। एक वर्षमा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आएका ५० वटा उजुरीमध्ये ४८ वटा उजुरी मेलमिलाप गरी पठाएको प्रहरीले जनाएको छ।

तीमध्ये दुई वटा घरेलु हिंसाका उजुरी बाजुरा जिल्ला अदालत पठाएको छ। यस्तै २० लैंङ्गिक हिंसाका उजुरी सबै मिलापत्र गरी फर्काएको छ। त्यस्तै १० बाल विवाहका उजुरीमा सबै जोडीलाई बाल विवाहका बारेमा अनुशिक्षण दिई उनीहरुका अभिभावको जिम्मा लगाएको प्रहरी प्रमुख भाटले बताए।

प्रहरीले छाउपडी प्रथा न्यूनीकरणमा नौ स्थानीय तहमा ३८९ वटा छाउपडी गोठ पहिचान गरेर स्थानीयलाई सचेत गराई उनीहरुकै रोहवरमा छाउपडी गोठ भत्काएको र बाँकी भत्काउन स्थानीय ध्यान आर्कषण गराउँदै आएको छ। अन्य आवभन्दा गत आवमा घरेलु, लैङ्गिक हिंसामा कमी आएको प्रहरी निरीक्षक ढुङ्गानाको भनाइ छ।

१६ हजार ९०० लिटर मदिरा नष्ट

जिल्लाका विभिन्न ठाउँबाट गएको आव २०७५÷०७६ मा १६ हजार ९०१ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीको सक्रियतामा जिल्लामा अवैधरुपमा लगाएको १२० रोपनीको गाँजाका बोट फँडानी गरेको प्रहरीको दाबी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .