पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ।
दिउँसो भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।
साथै गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
Shares

प्रतिक्रिया