कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा मृतक जोशीका पति मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनीहरुकी १५ वर्षीया छोरी ममता जोशी पनि दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। ‘दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ’, प्रवक्ता थापाले भने, ‘आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो।’
दुर्घटनालगत्तै घटनास्थलमा केही समय स्थिति तनावग्रस्त बनेको थियो। राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरीले ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ। रासस

प्रतिक्रिया