सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारविरुद्ध प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गरेकाे निन्दाप्रति अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा कटाक्ष गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेविरुद्ध चितवनमा दुर्व्यवहार भएकै दिन शनिबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले गरेको विराेधको प्रेस सल्लाहकार थापाले आइतबार बिहान तीखो जवाफ फर्काएका हुन्।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढेको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी! दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी!’

प्रतिक्रिया