समाज


६६ वर्षअघि पहिलो सगरमाथा आरोहणको समाचार ब्रेक गर्ने पत्रकारको निधन

६६ वर्षअघि पहिलो सगरमाथा आरोहणको समाचार ब्रेक गर्ने पत्रकारको निधन

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ११:४४,

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको समाचार लेख्ने बेलायती पत्रकार जान मोरिसको निधन भएको छ। उनी ९४ वर्षकी थिइन्।

शुक्रबार बिहान उनको वेल्समा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

२०१० जेठ १६ गते बिहान साढे ११ बजे नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। बेलायती पत्रिका टाइम्सकी संवाददाता जानले नै सफल आरोहणको समाचार ब्रेक गरेकी थिइन्।

आरोहणको चार दिनपछि अर्थात २०१० जेठ २० अर्थात बेलायती महारानी एलिजाबेथ द्वीतियको राज्यभिषेकको बिहान टाइम्स पत्रिकाले सो समाचार ब्रेक गरेको थियो। त्यस समयमा जेम्स मोरिसको नाममा समाचार प्रकाशित भएको थियो।

सन् १९७४ मा जेम्स लिंग परिवर्तन गरी महिला बनेकी हुन्। पहिले पत्रकार रहेकी उनी पछि जलयात्री र इतिहासकारका रुपमा चिनिइन्। उनका ४० बढी पुस्तक प्रकाशित छन्।

जानले सगरमाथाको आरोहरणको स्कुप समाचार अन्य संवाददाताहरुले नचोरुन भनेर त्यो जानकारी पत्रिकामा पुर्याउनका लागि कोड भाषाको प्रयोग गरेकी थिइन्।

जसमा उनले "Snow conditions bad. Advance base abandoned yesterday. Awaiting improvement. All well!" लेखेर पठाएकी थिइन्। सगरमाथा आरोहणको एक दिनपछि अर्थात जेठ १७ गतेको बिहान उनले आरोहण सफल भएको जानकारी प्राप्त गरेकी हुन्।

सगरमाथा आधार शिविरबाट रनरले सो सूचना नाम्चे बजारमा रहेको रेडियोबाट काठमाडौं पठाएका थिए। त्यसलाई टेलिग्राफ गरेर लन्डन पठाइएको थियो।

पचास र साठीको दशकमा संसारका प्रमुख शक्ति राष्ट्रहरुमा पहिलो पटक हिमाल चढ्नका लागि तीब्र प्रतिस्पर्धा रहेको थियो।

सन् १९५६ मा उनले स्वेज नहर संकटको समयमा फ्रान्सेली सेनाले इजिप्टमाथि गोप्य रुपमा आक्रमण गरेको समाचार पनि ब्रेक गरेकी थिइन्। इजिप्ट सरकारले स्वेज नहरलाई राष्ट्रियकरण गरेपछि बेलायत र फ्रान्सले त्यसमाथि पुनःनियन्त्रण प्राप्त गर्नका लागि आक्रमण गरेका थिए। जसले नयाँ विश्वयुद्ध हुन्छ कि भन्ने त्रास उत्पन्न गरेको थियो।

पछि अमेरिका र रुसको दबाबको कारण फ्रान्स र बेलायतले लज्जास्पद रुपमा युद्ध छाड्नु परेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad