समाज


उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै समापन गरियो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै समापन गरियो छठ

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १:२४,

आस्थाको महापर्व छठ पर्व व्रतालुले आज (शनिबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।

मूल विधि चतुर्थीमा सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पूजाअर्चना गरिएपछि पूरा हुने परम्परा छ। 

तलाउ, पोखरी वा नदी छेउमा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई चढाएका हुन्।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ।

सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटो स्वीकार गर्नुृ हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ।

कोरोना संक्रमणको त्रास भए पनि जनकपुरमा बेहुलीझैं सिंगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड दर्शनीय रहेकाे राससले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad