ad ad

समाज


सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो, तीन वर्षमा ५ सय ३२ जनाले ज्यान गुमाए

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो, तीन वर्षमा ५ सय ३२ जनाले ज्यान गुमाए

गोकुल जोशी
मंसिर ५, २०७७ शुक्रबार ९:४९,

सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना बढ्दो क्रममा रहेको देखिएको छ। ट्राफिक प्रहरीको त्रिवर्षीय तथ्याङ्कले सवारी दुर्घटना बढ्दो क्रममा रहेको देखाएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशभर १ सय ६४ सवारी दुर्घटना भएका थिए। यो संख्या अर्को वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा बढेर २ सय ३४ पुगेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा आव २०७४/०७५ भन्दा ७० बढी सवारी दुर्घटना भएको तथ्यांक छ।

आर्थिक वर्ष २०७६/०७७ मा २ सय ८५ दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ को चार महिना (कार्तिक सम्म)को अवधिमा १ सय ७६ सवारी दुर्घटना भएका छन्।

तीन वर्षमा ५ सय ३२ ले ज्यान गुमाए
सुदूरपश्चिममा तीन वर्षको अवधिमा भएका ६ सय ८३ वटा सवारी दुर्घटनामा परी ५ सय ३२ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा २ सय ३४ सवारी दुर्घटनाबाट २ सय २३ जनाले ज्यान गुमाउनु परेको थियो।

चैत ११ गतेबाट सरकारले लकडाउन गरेको भएपनि गत आर्थिक वर्षमा दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाले ज्यान गुमाएका छन्।

चालु आर्थिक वर्ष २०७७/०७८ को चार महिनाको अवधिमा ५३ जनाले ज्यान गुमाए। प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा सवारी दुर्घटनाबाट ५ सय ७४ जना गम्भीर र ५ सय ९३ जना सामान्य घाइते भएका छन्।

आर्थिक बर्ष २०७४/०७५ मा गम्भिर १ सय ३३, सामान्य २ सय ४, आर्थिक वर्ष २०७५/०७६ मा गम्भिर १ सय ८७ र सामान्य २ सय २५ तथा आर्थिक बर्ष २०७६/०७७ मा गम्भिर २ सय ५४ र सामान्य १ सय ६४ जना घाइते भएका थिए। यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा १ सय ९७ गम्भिर र १ सय ९३ जना सामान्य घाइते भएका छन्।

सुरक्षा योजना प्रभावकारी भएन
सुदूरपश्चिम प्रहरीले दशैँ–तिहारलाई मध्यनजर गर्दै सुरक्षा योजना बनायो। सो सुरक्षा योजना अनुसार दुर्घटनामा न्यूनिकरणका लागि २ सय ८ प्रहरी परिचालन गरिएको थियो। तर प्रहरीको दुर्घटना न्यूनिकरण गर्ने यो योजना भने प्रभावकारी भएन। दशैँ–तिहारको अवधि (कार्तिक महिना) मा मात्रै सुदूरपश्चिममा ५४ वटा सवारी दुर्घटनाबाट २७ जनाले ज्यान गुमाउनु परेको छ।

‘तिहारको मुखमै’ २७ कार्तिकको राती बैतडीको पाटन नगरपालिका–४ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस दुर्घटना भयो। सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते भएका थिए।

यी हुन दुर्घटना बढ्नुका कारण
वर्षेनी दुर्घटना बढ्नुमा चालकको लापरबाही, सडकको अवस्था, पैदल यात्री लगायत विभिन्न कारण रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह बताउँछन्।

‘पहिलो कारण सवारी चालकको लापरवाही नै हो,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने गर्दा दुर्घटना हुन्छन्।’

सडकको अवस्थाकै कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको बुझाइ छ।

‘सडकमा खाल्डाखुल्टी छन्, निर्माण सामग्रीहरु पनि सडकमै राखिएका हुन्छन्’ एसएसपी सिंहले भने, ‘सडकको सतह चिप्लो हुनु, मोडमा विपरीत दिशाबाट आएको साधन नदेखिएर एक आपसमा ठोक्किनु, सडकमा ग्रेडिङ्ग नमिल्दा पनि दुर्घटना हुन सक्छ।’

पछिल्लो समयमा छाडा चौपाया पनि दुर्घटना कारण बनेका छन्। सवारी दुर्घटना हुनुमा अर्कोे कारण यात्रुहरुको कमजोरी पनि रहेको एसएसपी सिंहको भनाइ छ।

‘चलिरहेको गाडीबाट झरिदिने, चढिदिने, झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकालेर यात्रा गर्ने र बाटो काट्दा सावधानी नअपनाउने कारणले पनि दुर्घटना बढेको छ’ उनले भने, ‘सवारी साधनकै कारण पनि दुर्घटना हुने गरेको छ। सवारी साधनमा यान्त्रिक गडबडी, क्षमताभन्दा बढी लोड, सवारी साधनहरु पुराना भएर ब्रेक नलाग्नु, गुड्दागुड्दै टायर खुस्किनु, टायर पञ्चर हुनु, गाडीको लाइट राम्रो नहुनु जस्ता समस्याहरु रहेका छन्।’

के गर्दैछ ट्राफिक प्रहरी?
सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा कडाई गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी बामदेव गौतमले बताए। बिगतमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको भएपनि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सो कार्यक्रम रोकिएको उनले बताए।

‘चेकजाँचमा कडाई गरेका छौँ। सरप्राइज चेकिङ्ग, संयुक्त चेकिङ्ग नियमित भइरहेको छ’ एसपी गौतमले भने, ‘दुरी कायम गरेर मापसे चेकजाँच पनि भइरहेको छ।’

मापसे चेकजाँचका लागि ३ मिटर दूरीबाटै चेकजाँच गर्न सकिने नयाँ मेसिन आएकोले सोही मेसिनको प्रयोग गरेर चेकजाँच भइरहेको उनले बताए। तीव्र गतिबाट हुने दुर्घटना न्यूनिकरणका लागि ‘स्पिड गन’ को प्रयोग गरी चेकजाँच भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

‘पूर्व–पश्चिम राजमार्गलाई लक्षित गरी उद्योगी, व्यवसायी, स्थानीय समाजेवी तथा प्रहरीलाई समेटेर राजमार्ग व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण समिति गठन गरेका छौँ। कही कतै राजमार्गमा निर्माण सामाग्री थुपारिएका छन् वा सडकमा रहेका खाल्डाखुल्टी मर्मतमा यो समितिले अगुवाई गर्ने गरेको छ’ एसपी गौतमले भने, ‘यसले पनि दुर्घटना न्यूनिकरणमा सघाएको छ। रेडियो, टेलिभिजनबाट तथा माइकिङ गरेर जनचेतनामूलक सूचना सम्प्रेषण गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .