ad ad

समाज


१३ महिलाको हत्या गरेका सिरियल किलरको कोरोना लागेपछि मृत्यु

१३ महिलाको हत्या गरेका सिरियल किलरको कोरोना लागेपछि मृत्यु

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १४:३१,

बेलायती सिरियल किलर पिटर सटक्लिफको मृत्यु भएको छ।

‘योर्कसायर रिपर’ भनेर चिनिने सटक्लिफलाई सन् १९८१ मा १३ जना महिलाको हत्या गरेको र अन्य सात जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

बेलायतको कानुन मन्त्रालयका अनुसार ७४ वर्षको उमेरमा सटक्लिफको अस्पतालमा शुक्रबार मृत्यु भएको हो।

अनेकाँै स्वास्थ्य समस्या रहेको सटक्लिबलाई कोरोना संक्रमण पनि भएको थियो।

दशकौँसम्म मानसिक अस्पतालमा बसेपछि सन् २०१६ मा उनलाई जेलमा सारिएको थियो।
उत्तरी इंग्ल्यान्डमा १९७५ देखि १९८० सम्म सटक्लिफको आतंक थियो।

उनले प्रहरीसमक्ष १९८१ मा आफूले ती महिलाहरुको हत्या गरेको स्वीकारेका थिए। सुनुवाइका क्रममा आफूलाई यौनकर्मीहरुको हत्याका लागि ईश्वरले पठाएको उनले दाबी गरेका थिए।

यद्यपि उनले यौनकर्मीको मात्र हत्या गरेका थिएनन्।

१९४६ मा वेस्ट योर्कसायरमा जन्मिएका उनले ट्रक चालकदेखि चिहान खन्ने काम समेत गरेका थिए।

विवाहको एक वर्ष नबित्दै उनले अक्टोबर १९७५ मा पहिलो हत्या गरेका थिए। पीडित महिला थिइन्, चार बच्चाकी आमा तथा यौनकर्मी २८ वर्षीया विल्मा म्याक्कन।

त्यसपछिका पाँच वर्षमा उनले १६ देखि ४२ वर्षसम्मका महिलाहरुको हत्या गरे।

अनुसन्धानका क्रममा प्रहरीले उनीसँग नौ पटक सोधपुछ गरेको थियो। तर, अनुसन्धानकर्मीहरुको एकपछि अर्को भयानक गल्तीका कारण उनी पक्राउ परेनन् र हत्या शृंखला जारी राख्न उनी सफल भए।

१९७८ मा जोन हम्बल नामक एक व्यक्तिले आफू सिरियल किलर भएको बताउँदै फरक लवजको अडियो टेप र चिठी पठाएपछि प्रहरी झनै झुक्किएको थियो।

प्रत्यक्षदर्शी र जीवित उम्किन सफल भएका पीडितले हत्यारा स्थानीय व्यक्ति भएको बताउँदा पनि प्रहरीले अनुसन्धान अन्यत्रै केन्द्रित गरेको थियो।

यो गल्तीका कारण सटक्लिफले अरु तीन महिलाको हत्या गर्ने मौका पाएका थिए।

अन्ततः सन् १९८१ मा सटक्लिफ पक्राउ परे। उनले चलाउँदै गरेको कारको नम्बर प्लेट चोरीको भएको देखेपछि प्रहरीले उनलाई रोकेका थिए।

त्यसबेला सटक्लिफको गाडीमा ओलिभिया रिभर्स नामक एक महिला पनि यात्रुका रुपमा थिइन्। पछि प्रहरीले त्यसनजिकै एउटा घन र चक्कु पनि फेला पारेका थिए।

करिब आधा दशक उत्तरी इंग्ल्यान्ड सटक्लिफको छायामा बाँच्यो। कतिपय महिलाहरु रात परेपछि घरबाहिर निस्किन डराउँथे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .