समाज


शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ९:४१,

नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ। कोरोना रोगबाट संक्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गरे। उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ।

‘कोरोना संक्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न सक्षम हुनेछन् भन्ने विश्वास लिएका छौँ’, अध्यक्ष थापाले भने, ‘लक्षण बिहिन संक्रमितलाई घरकै एकान्तबासमा राखिएको र उनीहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीमार्फत परामर्श र निगरानी थालिएको छ।’

गाउँपालिकाले कोरोना रोग लागेर घरकै एकान्तबास (होम आइसोलेसन) मा बस्ने संक्रमितलाई पौष्टिकयुक्त खानाको लागि एकमुष्ठ रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ। अध्यक्ष थापाका अनुसार लक्षण नभएका संक्रमित घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा सन्तुलित तथा पौष्टिकयुक्त खानाको आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको हो।

यसैबीच, अबदेखि गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ। ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषका लागि मासिक रु एक हजार भत्ता उपलब्ध गराउन बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर मङ्सिरदेखि भत्ता उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तरगत हाल एकल महिला र जेष्ठ नागरिकको रुपमा ७० वर्ष पूरा भएकालाई मात्रै उपलब्ध गराएकोमा एकल पुरुषलाई समेत उपलब्ध गराउने निर्णय भएसँगै ६० वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad