संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समाज सुधारक फाल्गुनन्दको नीति विश्व समुदायले अनुसरण गरेको बताएका छन्।
नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६औं जन्म जयन्तीको अवसरमा शुभकामना दिदै उक्त कुरा बताएका हुन्।
वि.सं. १९४२ कात्तिक २५ गते पूर्वी पहाडी जिल्ला इलामको एक सामान्य किसान परिवारमा जन्मिएका फल्गुनन्दको विवनको सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाजको सुधारमा खर्चिएको उल्लेख गरेका छन्।
‘आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नु भएका फाल्गुनन्दले समाज सुधारका लागि वि.सं. १९८८ वैशाख २४ गते स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको छ,’ शुभकामना व्यक्त गर्दै भनेका छन्।
मन्त्री भट्टराईले अनावश्यक तडकभडक नियन्त्रण र मौलिक संस्कृतिको जगेर्नाका लागि फाल्गुनन्दले जारी गरेको १० बुँदे लिखित मुचुल्कामा श्रीजंगा लिपिमा अध्ययन गराउने, मादक पदार्थ सेवन नगर्ने, छोराको विवाहमा दान नलिने, स्वदेशी कपडा लगाउने, छोरा र छोरीलाई समान शिक्षा दिने लगायतका कुरा उल्लेख भएको बताएका छन्।
समाज सुधारक फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई अझ सबल र कसिलो बनाउन सकिने भट्टराईको विश्वास रहेको छ।

प्रतिक्रिया