मुस्ताङको लोमान्थाङ– ४, नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) को भवन शिलान्यास भएको छ।
गृह सचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार भवनको शिलान्यास गरेका हुन्।
गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा बीओपी स्थापना गरिएको थियो।

सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दूरीमा रहेको बीओपी समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा छ। २४ कोठे भवन मौसम अनुकुलको हुने छ। करिब सांढे ६ करोड रुपैयाँमा निर्माण हुने भवन एक वर्ष भित्रमा तयार हुनेछ।
असोजदेखि बैशाखसम्म भारी हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने छ। हालसम्म देशभर सशस्त्र प्रहरी बलका १ सय ८३ वटा बीओपी स्थापना भएका छन्। यीमध्ये उत्तरी सिमानामा ७ वटा र बाँकी दक्षिणी सिमानामा छन्।

बीओपी स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, पिल्लर निरीक्षण, काउन्टरपार्टससँग समन्वय तथा नियमित पट्रोलिङ गर्दै आएको छ।


प्रतिक्रिया