महोत्तरीमा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा वडा कार्यालयका सचिव कारागार चलान भएका छन्।
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङले यादवलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
भङ्गाहा–९ का स्थायी बासिन्दा यादवमाथि सोही वडाकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन्। महिलालाई जबजस्ती बलात्कार गरेको आरोपमा गत असोज १४ गते उनी पक्राउ परेका थिए।
१४ असोजमा भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडाकी महिलामाथि जाइलागेका आरोप छ।
जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइ गर्दै अदालतले उनलाई कारागार पठाएको हो। यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको छ।
महोत्तरीमा चालु आर्थिक वर्षमा बलात्कारका घटना ह्वात्तै बढेका छन् । चालु आवको प्रथम चौमासिक अवधिमै २१ वटा जबर्जस्ती करणी र तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
यो सङ्ख्या गत आवको तुलनामा निकै बढी हो । गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी र सात करणी उद्योगका घटना भएका थिए।
यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिका आपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

प्रतिक्रिया