अमेरिकामा आज नोभेम्बर ३ तारिख, नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदै छ।
आउँदो ४ वर्षका लागि राष्ट्रपति चुन्न नेपाली समयअनुसार आज (मंगलबार) राति मतदान सुरु हुनेछ।
अमेरिकाको आगामी राष्ट्रपति बन्न रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन चुनावी मैदानमा छन्।
मतदान सुरु हुनै लाग्दा दुवै उम्मेदवारले मतदातालाई आफूतर्फ आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन्।
यस क्रममा ट्रम्पले नर्थ क्यारोलाइना, पेनसिलभेनिया, विस्कनसिन र मिसिगनमा चुनावी सभा गरेका छन् भने बाइडेनले पेनसिलभेनिया र ओहायोमा यस्तो कार्यक्रम गरेका छन्।
तर सोमबारसम्म ९ करोड ७९ लाखभन्दा बढी मतदाताले मतदान केन्द्रमा गएर वा हुलाकमार्फत अग्रिम मत दिइसकेका छन्। यो यसअघिको चुनावमा भन्दा ७१ प्रतिशत बढी हो। साथै यति धेरै अग्रिम मतदान भएकाे अमेरिकाको इतिहासमा पहिलाेपटक हाे।
मतदान हुनुअघि भएका सर्वेक्षणले जो बाइडेन अगाडि रहेको उल्लेख गरेका छन्। तर यसअघिको चुनावमा पनि सर्वेक्षणले हिलारी क्लिन्टनलाई अघि देखाएको थियो तर राष्ट्रपतिमा ट्रम्प विजयी भएका थिए।
याे पनि : नेपाली मूलका अमेरिकीले कसलाई देलान् मत?

प्रतिक्रिया