ad ad

समाज


सरकारी जग्गाभित्र व्यक्तिको दाबीपछि कालमोचन घाट क्षेत्र पुनर्निर्माणमा अवरोध

सरकारी जग्गाभित्र व्यक्तिको दाबीपछि कालमोचन घाट क्षेत्र पुनर्निर्माणमा अवरोध

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १०:४०,

दुई पैसा जग्गा र त्यसमा बनेको २ तले घरमा व्यक्तिले स्वामित्व दाबी गरेपछि थापाथली कालमोचन घाट क्षेत्र पुनर्निर्माणमा समस्या आएको छ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको वाग्मती नदी किनार सुधार परियोजनाअन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दावी गरेको संरचनामा पुगेपछि काम र रोकिएको हो।

काठमाडौंको थापाथली पुलको मुखैमा यो घर छ। पुनर्निर्माणका क्रममा घरको काम त्यही घरमा पुगेपछि खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इँट्टाको पर्खाल छ।

त्यसमाथि काठ इँट्टा र सिमेन्ट प्रयोग गरेर बनाइएको २ तले घर छ। यो घरको स्वामित्व आफूसँग भएको दावी गर्दै एक व्यक्तिले लालपूर्जासहित स्वामित्व दावी गरिरहेको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।

समस्याको समाधान खोज्न आइतबार बिहान वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व बिभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारी भेला भएर स्थलगत अवलोकन गरेका थिए।

वडा अध्यक्ष हीरालाल तण्डुकारले उक्त संरचना व्यक्तिको हुने कुनै आधार नभएको बताए।

‘थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ । त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ । स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको बिषय हो,’ तण्डुकारले भने ।

गुठी संस्थानका उप प्रशासनक थपलियाका अनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ । त्यहाँ बैरागी र सन्यासीलगायतका अखडा छन्। त्यसमध्येको २ पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपुर्जा लिएर स्वामित्व दाबी गरेको छ। मालपोत ऐन दफा २४ बमोजिम दर्ता वदर गरेर गुठीको श्रेस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रुपमा कायम गराउने प्रक्रियामा जानुपर्ने बताउँछन्।

‘हामी गुठीको जग्गा भन्छौं । व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दाबी गर्नुहुन्छ,’ गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले भने, ‘व्यक्तिमा स्वामित्व कसरी पुग्यो । खोजी गरिरहेका छौं।’

पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले जगमा कुँदेका ढुङ्गाको पर्खाल छ त्यसमाथि दचि अपा (मौलिक इटा ÷ स्मारक र सार्वजनिक संरचनामा धेरै प्रयोग हुने) को गारो छ। त्यो गारोको माथिल्लो भागमा पलि फोँ (बुट्टेदार इटा) राखिएको छ । सामान्यतया व्यक्तिगत वा आवासीय घर निर्माणमा यस्ता सामाग्रीको प्रयोग हुँदैन। अझ यो त सम्पदा क्षेत्र हो।

यी निर्माण सामाग्री हेरेर व्यक्तिको घर हो भन्न नसकिने बताउँछन् । थापाथलीदेखि टेकुदोभानसम्म एशियन विकास बैङ्कको सहयोगमा ३ चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्म, दोस्रो चरणमा टेकु पुलदेखि टुकुचा वाग्मती दोभानसम्म र तेस्रो चरणमा टुकुचादेखि थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण तथा मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउन पूर्वाधार निमार्ण हुनेछ।

परियोजनाको पहिलो चरणमा १२ वटा सम्पदा पुननिर्माणसहितको काम करीब सम्पन्न हुने अवस्थामा पुगेको छ । दोस्रो चरणको काम थालिएको छ । यो चरणमा ११ वटा सम्पदा पुननिर्माण हुनेछन् । पुरातत्व अधिकृत भण्डारीकाअनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका ४ वटा सम्पदा पुननिर्माण भइरहेका छन् ।

पहिलो चरणको काम करिब ३७ करोड रुपैयाँ, दोस्रो चरणको काम करीब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम करीब ३५ करोड रुपैयाँ लागतमा अघि बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .