ad ad

समाज


काभ्रेमा कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौती

काभ्रेमा कोरोना संक्रमितको शव व्यवस्थापनमा चुनौती

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ०:५,

काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि शव व्यवस्थापनमा चुनौती देखिएको छ।

जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ।

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको शव अन्त्येष्टि गर्न सरकारी निकायले नै काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ।

पशुपति शवदाह गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा ठाउँको खोजी गर्न थालिएको हो।

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो।

‘पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ।’ हाल काभ्रेका दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेका छन्।

यसैबीच, धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थी कोरोना सङ्क्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन्।

रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए।। कात्तिक महिनाभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)ले आर्थिक सहयोग गरेको छ।

काभ्रेमा बिहीबारसम्म ५ सय २५ महिलासहित एक हजार ३ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।। कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८ सय ८७ सङ्क्रमणमुक्त भएका छन्।

सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३ सय ७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .