सरकारले कोरोना संक्रमितको उपचार गर्ने योजना अन्तर्गत सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने नीति अन्तर्गत सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो।
देशव्यापी रुपमा कोरोना महामारी गम्भीर रुपमा बढेको अवस्थामा अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा ३ सय ७६ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गर्ने निर्णय भएको हो।
सोमबार अर्थमन्त्रालयमा भएको दुवै मन्त्रालयका पदाधिकारीसहितको बैठकमा अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल सहभागितामा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए।
‘सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ’, उनले भने।
एकीकृत योजना अन्तरगत प्रादेशीक र संघीय अस्पतालहरु समेत रहेका छन्। मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आईसीयूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ।
यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ।
यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को विरुद्ध विकास हुने खोप लगायतका आपतकालिन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रकृया अगाडि बढाउने सहमति समेत दुई मन्त्रालयबिच भएको छ।
Shares

प्रतिक्रिया