समाज


मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारबाही

मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारबाही

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:८,

चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारबाही गरिने भएको छ।

दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारबाही’ को सन्देशसमेत दिइरहेको छ।

कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो। कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए।

‘कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारबाही हुने सन्देश दिइरहेका छौँ’, उनले भने। उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना÷सजाय दोब्बर गरिने छ।

गाउँपालिकाले कार्यविधि प्रचारप्रसारको काम शनिबारदेखि थालेको हो। गौतमले भने, ‘आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ।’ आव २०७७÷७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो। कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारबाही गरिने उल्लेख छ।

गौतमका अनुसार मदिरा बेचविखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ। पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु २० हजार जरिवाना गरिने जनाइएको छ। सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रो पटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ।

‘उल्लेखित कारबाहीपश्चात पनि अटेर गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाउन सिफारिस गरिनेछ’, गौतमले भने। उनका अनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारबाहीको दायरामा ल्याइनेछ। विभिन्न जाति, आदिवासी जनजातिको रितीरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad