बुहारीलाई अश्लील म्यासेज पठाउने पूर्व डीएसपी कृष्णकुमार खड्कालाई अदालतले ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तिराएको छ।
काठमाडौं जिल्ला अदालतले दुई वर्ष पहिले परेको मुद्दामा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १३ घर भएका खड्कालाई दोषी ठहर गर्दै सजाय र जरिवाना तिराउने फैसला गरेको हो।
मधु साह भन्ने सुमना खड्काले २०७५ असोज २१ गते जेठाजुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। मुद्दा परेलगत्तै पक्राउ परेका खड्कालाई १५ दिन हिरासतमा राखिएको थियो। त्यतिबेला अदालतले उनलाई पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा छाडेको थियो।
न्यायाधीश रामप्रसाद न्यौपानेको इजालसले गरेको फैसलामा भनिएको छ, ‘कृष्णकुमार खड्काले विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ (१) विपरीतको कसुर गरेको ठहर भएको अवस्था छ। कसुर गर्दाको परिस्थितिलाई समेत हेर्दा प्रतिवादीलाई न्युनतम् सजाय गर्दा पनि कानुनको मकसद पूरा हुने देखिँदा विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ।’
साथै जाहेरवाला पीडितलाई पुग्न गएको मानसिक पीडाबापत २५ हजार रुपैयाँ क्षतिपूर्ति भराइदिन फैसलामा भनिएको छ। पूर्व डीएसपी खड्काले म्यासेज पठाएको मोबाइल जफत गरिएको छ।
उनलाई यसअघि १५ दिन हिरासतमा राखिएको थियो। हिरासत बस्दाको रकम ४ हजार ५ सय भने जरिवानामा नै कट्टा हुनेछ।
पूर्व डीएसपी खड्काले आफ्नै बुहारी (भाइकी श्रीमती) लाई जिस्काउने, हैरानी गर्ने र अपमान गर्ने हेतुले अमर्यादित ढंगले फेसबुक आईडीमा कमेन्ट गर्ने, म्यासेन्जरमा म्यासेज पठाउने कसुर गरेको देखिएको छ।
सुमनाको परिवारमा राम्रो सम्बन्ध थिएन। आफूलाई सासू, ससुरा जेठाजुसमेतले मानसिक यातना दिएको तथा बोक्सी आरोप लगाएको र घरबाट निकालेको बताएकी छन्।
उनले श्रीमानसँग सम्बन्धविच्छेदका लागि २०७२ सालमै जिल्ला अदालत बाँकेमा निवेदन दिएकी भए पनि मुद्दा विचाराधीन छ। त्यसपछि पनि खड्का परिवारका सदस्यले आफूलाई यातना दिने गाली बेइज्यती गर्नेजस्ता कार्य नरोकेको उनले उल्लेख गरेकी छन्।
तर, पूर्व डीएसपी खड्काले भने बुहारीलाई म्यासेज र कमेन्ट गरेको फेसबुक आईडी आफ्नै भए पनि ह्याक भएको बताएका थिए। ह्याकरले नै यस्ता म्यासेज पठाएको भन्दै बचाऊ गरे पनि अदालतले उक्त दाबी पुष्टि हुन नसकेको ठहर गर्दै यस्तो फैसला गरेको हो।

प्रतिक्रिया