समाज


प्रहरीकै गाडीमा घुम्थे नक्कली इन्सपेक्टर, एसएलसी फेलले लिए गुप्तचरको परीक्षा

प्रहरीकै गाडीमा घुम्थे नक्कली इन्सपेक्टर, एसएलसी फेलले लिए गुप्तचरको परीक्षा

उजिर कार्की
असोज १६, २०७७ शुक्रबार १६:२०,

‘राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारी चाहिएको छ, अहिले कोरोनाका कारण विज्ञापन खुल्ने अवस्था छैन, के छ तिम्रो विचार? करारमा जागिर खाने हो भने म मिलाइदिन्छु,’ प्रहरी सहायक निरीक्षकको परीक्षामा फेल भएर बसेका युवकलाई इन्सपेक्टर बताउने व्यक्तिले आस देखाए।

बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई वीरगन्जमा भेटेका/बोलेका जतिले प्रहरी निरीक्षक भनेरै चिनेका थिए। आफू बुटवलमा कार्यरत रहेको र हाल बिदामा घर आएको उनी बताउँथे।

उमेर २४ वर्ष पुगिसकेकाले बारा घर भएका ती युवकले प्रहरी सेवामा प्रवेश गर्ने सपना अधुरै रहने निश्चित ठानेका थिए। तर अजयलाई भेटेपछि एकाएक सपना पूरा होला जस्तो भएर आयो। तर त्यसका लागि अजयले ६ लाख रुपैयाँ चाहिन्छ भनेका थिए। पछि बार्गेनिङ गर्दै जाँदा डेढ लाखमा कुरा मिल्यो।

‘भीआईपी कोटामा छिराउने हो तिमीलाई, जाँचचाहिँ दिनुपर्छ, पास गराउने र जागिर खुवाउने जिम्मा मेरो,’ उनले भनेका थिए, ‘अहिले करारमा जागिर दिने हो स्थायीका लागि लोकसेवा दिनैपर्छ।’

असईको परीक्षामा सिटअपमा फालिएका ती युवकसँग फेरि भिड्न उमेर थिएन। उनका लागि यो नै अन्तिम अवसर थियो। पैसा दिने कुरामा केही छुट मागे, तर तत्काल रकम भने दिएका थिएनन्। असईमा सहभागी हुँदैको प्रवेशपत्रका आधारमा उनलाई परीक्षामा सामेल गराउने अजयले बताए।

अजयले ती युवा जस्तै २१ जनालाई भीआईपी कोटामा राष्ट्रिय अनुसन्धानको जागिरे बनाइदिन्छु भनेका थिए। ती मध्ये दुई युवती उनकै चिनजानका थिए। उनीहरुसँग रकम उठाएका थिएनन्। १२ पास गरेर बसेका उनीहरुलाई पनि अजयले जागिरको आस देखाएका रहेछन्।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार उनले १३ जना युवासँग ३ लाख ६१ हजार रुपैयाँ उठाइसकेको पाइएको छ। केहीलाई छ भने रकम अहिले नै दिनुस् नभए परीक्षामा सहभागी भएपछि वा जागिर निश्चित भएपछि मात्रै दिँदा पनि हुन्छ भनेका थिए।

वीरगन्ज बासिन्दाले मात्रै होइन, स्थानीय प्रहरीले पनि उनलाई ‘इन्सपेक्टर साब’ भनेर चिन्थे। प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गएर उनले आफ्नो परिचय त्यही हिसाबले दिइसकेका थिए। स्थानीयले नपत्याउन् पनि कसरी? यी कार्यालयका प्रहरीले आँखैअगाडि उनलाई सलाम हानेको उनीहरुले देखेका थिए।

इन्सपेक्टर भनेपछि कनिष्ठ प्रहरीले आफूभन्दा माथिका हाकिमको बारेमा सोध्ने आँट पनि गरेनन्। अजय धेरै पटक प्रहरी चौकी आउजाउ गर्थे। कोरोना संक्रमणको असर र सुरक्षा निकायकै बारेमा गफ दिन्थे।

कतिपय बेला त आफ्नो बाइक बिग्रिएको भन्दै प्रहरीको गाडीमै घर जान्थे। उनका बुबा बिरामी भएको बेला पनि प्रहरीकै गाडीमा अस्पताल पु¥याएको पाइएको छ। चौकीका इन्चार्ज समेत रहेका सईलाई उनले भाइ भन्थे। बिदामा आएको इन्सपेक्टरले भनेपछि उनले गाडी नै पठाइदिए।

‘तराईका जिल्लामा प्रहरीलाई हेर्ने दृष्टिकोण केही फरक छ। प्रहरीसँग अलि डराउँछन् पनि। प्रहरी बुझेकाहरुले पनि खुसी पारेर काम लिनुपर्छ भनेर सहयोग गर्छन्,’ प्रदेश २ का एक डीएसपीले भने। उनले यसैगरी भ्रममा पारेर २१ जनालाई परीक्षामा सहभागी हुन तयार गरेका थिए।

स्थानीय शिक्षक नै परीक्षामा गार्ड
उनले वीरगन्ज महानगरपालिकामा लकडाउनकै बीचमा एउटा सर्कल बनाइसकेका थिए। प्रहरी, कर्मचारीदेखि स्थानीयसम्मलाई रायले भ्रम दिन सफल भएका थिए।

उनले स्थानीय एक युवकसँग भने, ‘एउटा परीक्षा सञ्चालन गर्नुछ, लौन भाइ मलाई परीक्षा हलमा गार्ड बस्नका लागि शिक्षक चाहियो। खाजा खाना हुन्छ, कर काटेर नेपाल सरकारले तोकेको सेवा सुविधा हुन्छ।’

अहिले लकडाउनका कारण विद्यालय बन्द छन्। पठनपाठन छैन। त्यहीँकी एक शिक्षिका अजयसँगै परीक्षा सञ्चालन गर्न तयार भइन्। वीरगन्ज २५ को माइस्थान विद्यापिठकी शिक्षिका समेत परीक्षामा गार्ड बस्न गइन्।

वीरगन्ज महानगरपालिका १६ को देव पार्टी प्यालेसमा यसअघि नै उनी प्रहरीसहित पुगेका थिए। पार्टी प्यालेस सञ्चालक पनि इन्सपेक्टरले भनेपछि सहजै तयार भए हल उपलब्ध गराउन। पार्टी प्यालेसका साहुका छोरालाई पनि उनले त्यो दिन काम दिने भए।

अन्य चिनेजानेकालाई पनि यसैगरी विश्वास दिलाएर र भत्ता दिने भनेर परीक्षा सञ्चालनका लागि सहयोग लिए। १४ गते परीक्षा सञ्चालनका लागि पार्टी प्यालेसमा २१ जना विद्यार्थी भेला भए।

यसरी खुल्यो झुटको पर्दा
१४ गते बिहानैदेखि परीक्षाको तयारी सुरु भयो। पार्टी प्यालेसको हलभित्र टेबल–कुर्सी दूरी कायम गरेरै राखियो। २१ जना विद्यार्थी प्रवेशपत्रसहित हलमा बसे। उनले परीक्षा सञ्चालनका लागि नेपाल प्रहरीका डीआईजी, डीएसपीहरु पनि आउने भनेका थिए। उनी भने इन्सपेक्टरको बर्दी र फुली लगाएर तम्तयार थिए।

परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि उनले भने, ‘डीआईजीसाबलाई कोरोना संक्रमण भएछ, डीएसपीसाबलाई फोन लागेन सुरु गरौं पछि मिलाउँला केही छैन।’

प्रश्नपत्र उनले नै तयार गरेका थिए। वितरणका लागि शिक्षिकालाई थमाए। तर उनले ती प्रश्न हेरेपछि सोधेकी थिइन्, ‘प्रहरीको परीक्षामा पनि यस्तो प्रश्न हुन्छ र सर?’

तर, उनलाई विश्वस्त पारे अजयले। प्रश्नपत्रको माथि लेखिएको थियो, ‘लोक सेवा आयोग, राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक प्रश्नपत्र भीआईपी सेट–१, २०७७÷०७८।’

विषयमा सामान्य ज्ञान र बौद्धिक परीक्षण। ५० पूर्णाङ्कको परीक्षाका लागि एक घण्टा समय तोकिएको थियो। प्रश्नमा पशुपतिनाथको मन्दिर स्थापना गर्ने राजादेखि सीएनएन हिरो हुने पहिलो नेपाली को हुन् भनेर सोधिएको थियो। यस्तै खालका ३५ वटा प्रश्न रहेको प्रश्नपत्र शिक्षकाले बाँडिन्। परीक्षा सुरु भयो।

तर वीरगन्जमा नयाँ इन्सपेक्टर देखेपछि एक व्यक्तिले शंका गरे। उनले जिल्ला प्रहरी कार्यायलका सबै इन्सपेक्टर चिनेका थिए। नयाँ इन्सपेक्टर आएको पनि उनलाई थाहा थिएन। फेरि त्यहाँ अरु प्रहरी पनि देखिएनन्। अहिले सबै परीक्षा स्थगित छन् यो परीक्षा कसरी सञ्चालन भइरहेको छ? उनले यसबारेमा पर्सा प्रहरीलाई सोधे।

उनको कुरा सुनेर प्रहरी नै चकित भए। विद्यालयका सानातिना परीक्षाबाहेक ठूला र विशेष परीक्षाको प्रश्नपत्र नै प्रहरी कार्यालयमा राखिन्छ। नेपाल प्रहरीको परीक्षा त जहाँतहीँ सञ्चालन नै हुँदैन। अहिले त परीक्षा नै थिएन। फेरि पोसाकमै प्रहरी पनि छन् भनेपछि प्रहरीले नै चकित खाए, यो सबै के भइरहेको छ?

जिल्ला प्रहरी कार्यालयसँगै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी खटिए। पार्टी प्यालेसमा परीक्षा सञ्चालन भइरहेको थियो। सईको कमान्डमा गएको प्रहरीले इन्सपेक्टरमाथि सोधपुछ थाले। नक्कली परीक्षा सञ्चालन भएको तत्कालै पत्ता लाग्यो। उनी पनि नक्कली इन्सपेक्टर भएको पत्ता लाग्यो।

बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षामा सहभागी थिए। परीक्षा सञ्चालनमा अरु ७ जनाले पनि सहयोग गरिरहेका थिए। प्रहरीले उनीहरुसँग पनि सोधपुछ गर्दा पत्ता लाग्यो नक्कली परीक्षा सञ्चालन भइरहेको रहेछ। परीक्षार्थीसहित, परीक्षा सञ्चालन गर्ने र यसका योजनाकार रायलाई प्रहरीले नियन्त्रणमा लियो।

राय प्रहरी निरीक्षकको बर्दी र फूलीसहित पक्राउ परे। परीक्षामा सहभागीमध्ये केहीले ९ महिना पहिलेबाटै यो जागिरका लागि कुरा अगाडि बढेको बताएका छन्।

पक्राउ परेका रायले भने लकडाउन सुरु भएपछि आफूले यो धन्दा थालेको बयान दिएका छन्। उनले सबैलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचकमा करारमा भर्ना गर्ने भनेका थिए।

तर उनको साथबाट भने प्रहरी सहायक निरीक्षक र खरिदारको नक्कली प्रश्नपत्र पनि फेला परेको छ। परीक्षामा प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान र प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान फेला परेको छ।

परीक्षा हलबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय वसन्त चौधरी, पर्साको वीरगन्ज महानगरपालिका १६ का २१ वर्षीय रविकुमार चौरसिया, रानीघाटका २५ वर्षीय रामजी चौरसिया र पकाहामैनपुर गाउँपालिका ५ सबैठवाका ४७ वर्षीय शिवनारायण चौरसिया लगायतका व्यक्ति पक्राउ परे। उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी पन्तले बताइन्।

अजयले भने आफू बाहेक कसैलाई पनि यो नक्कली हो भन्ने जानकारी नरहेको र उनीहरुलाई पनि आफूले ढाँटेर प्रयोग गरेको बताएका छन्। यत्रो ठगीको प्रपञ्च रच्ने राय भने पढाइमा एसएलसी फेल हुन्। भारतमा कम्प्युटर सिकेको र युट्युबमा हेरेरै प्रश्न पत्र तयार गरेको उनले प्रहरीलाई बताएका छन्। परीक्षामा सहभागी मध्ये १३ जनासँग उनले १ हजारदेखि डेढलाख रुपैयाँसम्म उठाएका छन्।

अजयले प्रहरीलाई भनेका छन्, ‘६ लाख भने पनि जोसँग जति रकम झार्न सकिन्छ त्यति मागेँ, कतिलाई फर्मको मात्रै भनेर एक हजार मात्रै भएपनि लिएँ, केहीले जागिर लगाइदेवापतको केही रकम पनि दिए।’

उनले परीक्षापछि नक्कली नियुक्ति समेत दिने तयारी गरेको बताएका छन्। यसअघि गत जेठमा छपकैयाको मन्दिरमा बहिनीको विवाह गर्दा पनि उनले आफूलाई इन्सपेक्टर नै भनेर चिनाएका थिए।

जसका कारण स्थानीयले उनलाई निशुल्क मन्दिर उपलब्ध गराएर सरसामान सहयोग समेत गरेको खुलेको छ। रायले २०७२ सालमा पनि सशस्त्र प्रहरी हुँ भन्दै ठगी गरेको खुलेको छ। पक्राउ परेका अरुलाई भने प्रहरीले तारेखमा छाडेको छ। रायलाई म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .