ad ad

समाज


विदेशबाट श्रमिक ल्याउने चाटर्ड उडान बन्द, भोलिबाट थपिए नियमित उडान

विदेशबाट श्रमिक ल्याउने चाटर्ड उडान बन्द, भोलिबाट थपिए नियमित उडान

उजिर कार्की
असोज १४, २०७७ बुधबार १५:४,

सरकारले बिहीबारदेखि नियमित उडान थप गरेको छ। विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बिहीबारदेखि नियमित उडान थप भएका छन्। विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको क्षेत्रीले बताए। प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको छ।

२४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्।

नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट छ वटा, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ।

हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक साता ७–७ वटा उडान भर्ने छ। फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन्। यसैगरी हिमालयनले क्वालालाम्पुरबाट साताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ।

उसले चीनको चङकिङबाट साताको एउटा उडान गर्ने छ। फ्लाई दुबईले दुबईबाट साताको सातवटा उडान भर्नेछ।

कुवेतबाट जजिरा एयरलाइन्सले साताको सातवटा उडान भर्ने छ।

कोरियन एयरले सोलबाट साताको चार दिन चारवटा उडान, एयर अरेबियाले शारजहाँबाट साताको सात वटा उडान भर्ने छ।

एयर चाइना हरेक शनिबार चीनको छेङ्दुबाट र चाइना साउदर्न शुक्रबार गोन्जाउबाट नेपाल आउने छ। मलेसियन एयरलाइन्सले क्वालालाम्पुरबाट साताको चार दिन, मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको ६ दिन सातवटा उडान गर्ने छ।

कतार एयरवेजले सातामा दोहाबाट सातवटा, सलाम एयरले मस्कटबाट पाँचवटा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट तीनवटा उडान गर्ने तालिका सार्वजनिक भएको छ।

८७ हजार श्रमिक फर्किएपछि रोकियो चार्टर्ड उडान
नियमित उडानको संख्या थप गरेसँगै सरकारले चार्टड उडान बन्द गरेको छ। मेडिकल सामग्री बाहेकका लागि चार्टर्ड उडान अनुमति नदिइने सरकारको निर्देशन रहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।

सरकारले विदेशबाट चाटर्ड उडानबाट श्रमिकको उद्धार गर्न सुरु गरेपछि करिब ८७ हजार श्रमिक स्वदेश फर्किएका छन्। ३२ देशबाट चार्टर्ड उडान मार्फत नेपाली फर्किएका हुन्।

फर्किनेमध्ये धेरैजसो युएई, कतार, मलेसिया र साउदीबाट रहेका छन्। कतारबाट यो अवधिमा ५२ वटा उडान भएका छन्। तर बिहीबारबाट नियमित उडान मात्रै हुने दूतावासले प्रस्ट पारिसकेको छ।

दूतावासले चार्टर्ड उडानमा सहजीकरण गर्ने विमानस्थलका सम्बन्धित अधिकारीहरुलाई बुधबार धन्यवाद दिएको छ। अक्टोवर १, २०२० बाट नेपाल एअरलाईन्स, हिमालय एअरलाइन्स र कतार एअरवेजको नियमित दैनिक १÷१ ओटा व्यवसायिक उडान हुने भएकोले अब सीधै ती बिमानसेवाका आधिकारिक ट्राभल एजेन्सी मार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने दूतावासले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .