समाज


कर्मचारी नहुँदा खाद्यको चामल पनि ठेकेदारमार्फत वितरण

कर्मचारी नहुँदा खाद्यको चामल पनि ठेकेदारमार्फत वितरण

नेपालखबर
असोज १४, २०७७ बुधबार १०:२७,

रुकुम–पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन ।

रुकुम–पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो। कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत खाद्यको चामल वितरण भइरहेको छ। जसले गर्दा सबै नागरिकले सहज रुपमा खाद्य संस्थानको चामल नपाएको गुनासो गरेका छन्।

ठेकेदारमार्फत खाद्यको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माका सूर्य बुढाले बताए। जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उनको भनाइ छ। जिल्लामा अहिले खाद्य डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ। विगतका वर्षमा शोभा डीपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो। कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम–पश्चिमका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए।

जिल्लामा कर्मचारी नभएपछि चामल नियमित रुपमा बिक्री भएन। ‘निर्धारित कोटा अनुसारनै पठाएको चामल थन्किएपछि केही वर्षयता रुकुम–पूर्वमा कोटा घटाएर चामल पठाइरहेका छौँ’, उनले भने।

पछिल्ला केही वर्षमा जिल्लामा पठाएको चामल यहाँको मागभन्दा निकै कम भएको खड्काको भनाइ छ। यस वर्ष जिल्लाको दुई ठाउँमा गरी एक हजार २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। शोभा डिपोमा ७०० क्विन्टल र तकसेरा विक्री केन्द्रमा ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको रुकुम–पश्चिम कार्यालयका निमित्त प्रमुख खड्काले बताए। निर्धारित कोटाको चामल खपत भई थप माग गरेमा आवश्यकतानुसार जिल्लामा खाद्य संस्थानको चामल पठाइने उनले बताए।

अहिले चामल वितरणका लागि ठेकेदारसँग ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको बताइएको छ। सम्झौताको काम सकिने बित्तिकै दशैँ अगाडि नै गाउँमा चामल पु¥याउने गरी काम अगाडि बढाइने बताइएको छ। शोभा डीपोका लागि दाङबाट र तकसेराको लागि भैरहवाबाट चामल आउने छ। रुकुम पश्चिममा रहेको खाद्य संस्थानको शाखाले दुवै जिल्लामा काम गर्छ।

पटकपटक रुकुम–पूर्वका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताए। रुकुमकोटमा शाखा स्थापना गर्नुका साथै हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँ गरी जिल्लाभर १० वटा डिपो कार्यालयको स्थापना गर्न गत वर्ष सिफारिस गरी पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको खड्काले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad