सरकारले अनुमति नै नदिई देशका विभिन्न अस्पतालले कोरोनाको एन्टिजेन परीक्षण गराउन थालेका छन्।
सस्तो मूल्यमा गर्न सकिने एन्टिजेन परीक्षणको रिपोर्ट बढीमा एक घण्टामा आउँछ। तर, अस्पतालहरुले पीसीआर भन्दा पनि महंगो शुल्क लिएर सो परीक्षण गराइरहेका छन्। सरकारले पीसीआर परीक्षणका लागि २ हजार शुल्क तोकेको छ। तर, एन्टिजेन परीक्षण गर्ने अस्पतालले भने २२ सय देखि ४६ सयसम्म शुल्क लिएका छन्।
तर, एन्टिजेन भरपर्दो परीक्षण विधि मानिँदैन। कोरोना परीक्षणको लागि सबैभन्दा भरपर्दाे पीसीआर हुने भएपनि काठमाडौं उपत्यकासहित चितवन, प्रदेश १, २, र सुदूरपश्चिम प्रदेशका केही अस्पतालमा एन्टिजेन परीक्षण गराइरहेका छन्।
चितवन मेडिकल कलेज (सीएमसी) ले ३ हजार रुपैयाँ लिएर एन्टिजेन परीक्षण गराइरहेको छ। सीएमसीले पीसीआर परीक्षण भनेरै एन्टिजेन परीक्षण गराइरहेको छ।
त्यस्तै, सुदूरपश्चिमको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले पनि एन्टिजेन परीक्षण गरिरहेको छ। जसको शुल्क सो अस्पतालले २५ सय रुपैयाँ लिने गरेको छ। पाटन अस्पतालले पनि एन्टिजेन परीक्षण गराउन थालेको छ। जसका लागि उसले २२ सय रुपैयाँ लिने गरेको पाटन अस्पताल प्रशासन स्रोतले बतायो।
एन्टिजेन परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको सरकारका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
‘के परीक्षण गर्ने भनेर सरकारले (स्वास्थ्य मन्त्रालय)ले निर्णय गर्नुपर्छ,’ प्रा.डा. गौतमले नेपालखबरसँग भने, ‘मन्त्रालयले एन्टिजेन परीक्षण गर्नेबारे छलफल गरिरहेको छ, कुनै निर्णय भएको छैन, निर्णय नभई अहिले नै प्रयोग गर्नु अवैध हुन्छ।’
त्यस्तै, एन्टिजेन परीक्षणको शुल्क १२ सयभन्दा बढी नपर्ने उनी बताउँछन्।
‘एन्टिजेन टेस्ट पीसीआरभन्दा धेरै सस्तो पर्छ, हजार बाह्र सय भन्दा पर्दैन बढी रकम लिएको भए त्यो गलत हो,’ उनले थपे।
विज्ञहरुका अनुसार एन्टिजेन परीक्षण आपतकालीन अवस्थामा गरिन्छ। यसको नतिजा आधा घण्टामै आउने भएकोले इमर्जेन्सीका बिरामी, मेडिकल, सर्जिकल, रेडियोलोजिकल लगायतका छिटो रिपोर्ट चाहिने अवस्थामा यो परीक्षण गराउन सकिन्छ।
त्यसमाथि यसको विश्वसनीयतामा प्रश्न उठ्दै आएको छ। थोरै मात्र कम्पनीका एन्टिजेन डिटेक्सन किट बढी भरपर्दो मानिन्छन्। त्यसैले कोरोना परीक्षणका लागि सबैभन्दा राम्रो विधि पीसीआर नै भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला बताउँछन्।
नेपालमा एन्टिजेन परीक्षणका विषयमा सचेत हुनुपर्ने सुझाव दिन्छन् संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी। उनले लक्षण भएका र नभएकामा एन्टिजेन परीक्षणले झुक्याउन सक्ने खतरा रहेको बताए।
‘पीसीआरमा पोजिटिभ देखिएको केस एन्टिजेनमा पनि पोजिटिभ हुन्छ तर, यो पीसीआर जस्तो सेन्सिटिभ हुँदैन,’ डा.अधिकारीले भने, ‘सिम्टोम्याटिभ केसमा यो बढी विश्वसनीय हुन्छ। कुनै लक्षण नभएको, गम्भीर नभएको मानिसमा कम देखिन्छ। यदि कुनै केसमा एनिटजेन टेस्ट गर्दा कोरोना पोजिटिभ आयो भने पीसीआर गर्नु परेन तर, लक्षण नभएका केसमा नेगेटिभ आयो भने त्यसमा कोरोना नेगेटिभ छ भन्न गाह्रो हुन्छ। किनभने एन्टिजेन परीक्षणले भाइरसको गहिराइसम्म पुगेर रिपोर्ट ल्याउन सक्तैन। त्यस्तो बेला पीसीआर गर्नुपर्छ।’
डा. बास्तोला पनि एन्टिजेन परीक्षणबाट आएको रिपोर्टको सेन्सिटिभिटी, पत्ता लगाउन सक्ने क्षमताबारेमा भने अध्ययन गर्नुपर्ने बताउँछन्।
‘एन्टिजेनले ल्याउने रिपोर्ट सतही हुने भएकोले यसको सेन्सिटिभिटीका बारेमा ख्याल गरेर विस्तृत अध्ययन गर्नुपर्छ, विश्वका केही देशहरुले प्रयोग ल्याइसकेका छन्,’ उनले भने, ‘हाम्रो सरकारको मापदण्डमा पनि परेको छ। तर, पीसीआर जति भरपर्दाे छ कि छैन भनेर रिटेस्ट भने गर्नेपर्छ।’
एन्टिजेन प्रयोग गर्ने कि नगर्ने भन्नेबारे विस्तृत गाइडलाइन्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छैन।
डा. अधिकारी एन्टिजेनमा नेगेटिभ आएको केसलाई नेगेटिभ भनेर ढुक्क हुन नहुने बताउँछन्।
‘यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा मुख्य हो, नेगेटिभ आयो भनेर त्यसै छोड्नु हुँदैन,’ उनले भने, ‘यो पीसीआर जस्तो राम्रो होइन, नेगटिभ देखायो भनेर ढुक्क हुने अवस्थामा छैन।’
केही विज्ञ डाक्टर भने कस्तो अवस्थामा एन्टिजेनको प्रयोग गर्ने हो भन्नेबारे मन्त्रालयले गाइडलाइन ननिकाल्ने हो भने मनलाग्दी प्रयोग गर्ने र मनलाग्दी रकम लिने क्रम बढ्ने बताउँछन्।
‘पछिल्लो दिन यो परीक्षण गरेको २२ सय देखि ४६ सय सम्म लिएको पाइएको छ, जबकि जम्मा १ हजारमा यसको परीक्षण हुनेछ,’ एक विज्ञ डाक्टरले भने।
स्वास्थ्य मन्त्रालयले २ महिनाअगाडि निकालेको गाइडलाइनमा एन्टिजेन टेस्ट भनेर उल्लेख गरेको उनले बताए।
‘सरकारले नै तयारी गरेको भएर धेरै अस्पतालले एन्टिजेन टेस्ट गर्न थाले, तर, मूल्य अचाक्ली लिएका छन्,’ ती डाक्टरले थपे, ‘यसको परीक्षणमा पोजिटिभ आयो भने के गर्ने र नेगेटिभ आयो भने कसरी गर्ने भनेर मन्त्रालयले गाइडलाइन त निकाल्नुपर्यो नि! होइनभने यसलाई पूरै प्रतिबन्ध लगाउनुपर्यो।’
उनले पीसीआरभन्दा महंगो मूल्यमा एन्टिजेन परीक्षण हुने अवस्थालाई सरकारले तत्काल रोक्नुपर्ने बताए।
अहिले पीसीआरको समेत नयाँ र सस्तो प्रविधि आएपनि नेपालमा त्यसलाई ल्याउनेबारे मन्त्रालयले चासो नदिएको विज्ञहरुको आरोप छ।

प्रतिक्रिया