ad ad

समाज


प्रदेश २ का मन्त्रीद्वारा सचिव काफ्लेमाथि अभद्र व्यवहार, भेटेरिनरी एसोसियसनको आपत्ति

प्रदेश २ का मन्त्रीद्वारा सचिव काफ्लेमाथि अभद्र व्यवहार, भेटेरिनरी एसोसियसनको आपत्ति

नेपालखबर
असोज १०, २०७७ शनिबार १३:४८,

नेपाल भेटेरिनरी एसोसियसनले सचिव डा. सम्झना कुमारी काफ्लेलाई प्रदेश २ सरकारले हाजिर गर्न रोकेको र अभद्र व्यवहार गरेको भन्दै भत्र्सना गरेको छ।

नेपाल सरकारको निर्णय अनुसार प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा पदस्थापन भएकी एसोसियसन तथा नेपाल पशु चिकित्सा परिषद्की सदस्य डा. काफ्लेलाई मन्त्रीको संलग्नतामा हाजिर हुन नदिने प्रपञ्चसहित र अभद्र व्यवहार गरिएको भन्दै एसोसियसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले विज्ञप्ती मार्फत आपत्ति जनाएका हुन्।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष डा. श्रेष्ठले संघीयताकै विरुद्ध हुनेगरी मन्त्रीकै निर्देशनमा यस्तो गतिविधि भएको भन्दै यसले राष्ट्रसेवक कर्मचारीको मनोबल गिर्ने बताएका छन्। एसोसियसनले संघीयतालाई चुनौती दिने यस्ता घटनाप्रति मौन नबस्न र घटनाको सत्य तथ्य छानविन गरी यथाशीघ्र न्यायोचित निरुपण गर्न समेत माग गरेको छ।

‘सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित नेपालको संघीयताकै खिलाफ हुने गरी प्रदेश सरकारको गरिमामय पद धारण गरेको व्यक्तिको निर्देशनमा भएका यस्ता अवान्छित गतिविधिप्रति प्रदेश २ को सरकार र नेपाल सरकार मौन रहँदा संघीयता कार्यान्वयनमा जटिलता आउनुका साथै सवै राष्ट्रसेवक कर्मचारीहरुको मनोवलमा नकरात्मक असर पर्ने देखिन्छ’, एसोसियसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वामे सर्दै गरेको संघीयता कार्यान्वयनमा नै चुनौतिदिने यस्ता घटनाप्रति मौन नबस्न र घटनाको सत्य तथ्य छानविन गरी यथाशीघ्र न्यायोचित निरुपण गर्न सम्बन्धित सरकारसँग जोडदार माग गर्दछौं।’ 

एसोसिएसनले सचिव काफ्लेलाई जस्तोसुकै अवस्थामा पनि उच्च मनोवलका साथ राष्ट्रसेवामा कटिवद्ध रहन आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .