सिन्धुपाल्चोकको जुरेमा पहिरोले बगाएको स्थानीयको जग्गामा अवैध क्रसर सञ्चालन भइरहेको छ।
वि. स. २०७१ साउन १७ गते गएको भीषण जुरे पहिरोमा परी डेढ सयभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसपछि वि.स २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पले पीडामाथि पीडा थपेको थियो।
पीडितहरुको पहिरोबाट बचेको जग्गामा अहिले अवैध रुपमा क्रसर उद्योग सञ्चालन भइहेको र सम्बन्धित निकायमा सो क्रसर हटाउन बारम्बार आग्रह गर्दासमेत सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन्।
यसबारेमा विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाइएको तर सम्बन्धित निकायहरुले वेवास्ता गरेको पीडित कुमार पाैडेलले नेपालखबरलाई बताए।
उनले भने, ‘सुनकोशी किनारमा हामी ६/७ जनाको जग्गामा एक वर्ष भन्दा अघिदेखि क्रसर उद्योग चलाइएको छ। हामीले बारम्बार यहाँबाट क्रसर उद्योग हटाउन विभिन्न निकायमा धाइरहेका छौं। तर कसैले सनुवाइ गर्दैनन्।’
उनले क्रसर सञ्चालकहरुसँग आफ्नो जग्गा खाली गर्न आग्रह गर्दा ‘कहाँ छ तिमिहरुको जग्गा?’ भन्दै उल्टै धम्क्याउने गरेको गुनासो गरे।
‘हामीलाई पहिरोले ठुलो पीडा दियो। त्यहीमाथि बचेको जग्गासमेत क्रसर उद्योगले जवर्जस्ती कब्जा गरेको छ’ उनले भने, ‘कि जग्गा खाली गरिदिनुपर्यो कि त जग्गाको भाडा दिनुपर्यो।’
पीडितहरुका अनुसार जुरेबासीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, नापी, मालपोत, घरेलु तथा साना उद्योग विकास समिति, बाह्रबिसे नगरपालिका, जिल्ला वन कार्यालयसहित विभिन्न राजनीतिक दलहरुलाई क्रसर उद्योग हटाउन पहल गरिदिन आग्रह गरिसकेका छन्।
यस्तै, बागमती प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गराइएको उनीहरुको भनाई छ। पीडितहरुले आफ्नो जमिनबाट क्रसर उद्योग हटाउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सिन्धुपाल्चोकमा लगातार ७ वर्ष अघिदेखि हरेक वर्ष पहिरो गइरहेको छ। चीन नेपालको सबैभन्दा छोटो तातोपानी नाका अहिलेसम्म बन्द नै छ।
अवैध क्रसर उद्याेग हटाउन माग गर्दै पीडितहरुले जिल्ला समन्वय समितिलाई बुझाएकाे पत्र:


प्रतिक्रिया