समाज


२८९ जना कैदी छाडिँदै, कुन प्रदेशका कति?

२८९ जना कैदी छाडिँदै, कुन प्रदेशका कति?

उजिर कार्की
असोज २, २०७७ शुक्रबार १५:१६,

सरकारले शनिबार २ सय ८९ जना कैदीलाई सजाय छुट दिँदै जेलमुक्त गर्ने भएको छ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिको स्वीकृतिमा कैदीलाई सजाय माफि गरेर छाड्न लागिएको हो।

५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्न व्यवस्थाअनुसार जेलमुक्त गरिने भएको हो।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले २ सय ८९ जना कैदीलाई सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ कैदीलाई सजाय छुट दिने सरकारको प्रस्ताव स्वीकृत गरेकी हुन्।

यसरी छुट्ने कैदीमा सबैभन्दा धेरै वागमती प्रदेशका र कम कर्णाली प्रदेशका रहेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीलाई छाडिने भएको हो।

त्यसैगरी, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीलाई छाडिने भएको छ।

बिदा भएपनि उनीहरुलाई शनिबार नै छाडिने कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए।

कारागार व्यवस्थापन विभागले करिब ३ सय जना कैदी छाड्न सूची सरकारलाई बुझाएको भएपनि केही कैदीले भने सजाय छुट नपाउने भएका हुन्।

खासगरी ज्येष्ठ नागरिकको विषयमा कानुन बाझिँदा छाड्न नमिलेको हो।

फौजदारी कानुनअनुसार जबरजस्तिकरणीको मुद्दामा सजाय तोकिएका कैदीलाई सजाय छुट गर्न मिल्दैन। तर ज्येष्ठ नागरिक ऐनमा ६५ वर्ष माथिकाले कैद छुट पाउने व्यवस्था छ।

यो ऐनअनुसार ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले २५ प्रतिशत, ७० वर्ष पुगेकाले ५० प्रतिशत र ७५ वर्षमाथिकाले ७५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ।

तर जबरजस्तिकरणी गम्भीर अपराध भएकाले सो मुद्दामा जेल सजाय तोकिएकालाई भने ज्येष्ठ नागरिक ऐनअनुसार कैद छुट नगर्ने निर्णय भएको हो।

गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका अवसरमा सजाय माफी गरेर कैदीलाई जेलमुुक्त गरिँदै आएको छ।

यसअघि गणतन्त्र दिवसमा २ सय ३३ कैदी छुटेका थिए।

देशभरका कारागारमा १४ हजार २७ कैदी छन् । यीमध्ये करिव ७० प्रतिशत खराब सूचीका कैदी रहेको विभागले जनाएको छ।

यस्तै १० हजार १ सय ३६ थुनुुवा छन्। उनीहरूलाई पुर्पक्षका लागि थुनामा राखिएकाले छाड्न मिल्दैन।

कर्तव्य ज्यान, जबरजस्तिकरणी, भ्रष्टाचार, लागुऔषध, मानव बेचविखन, बन्यजन्तु तस्करी लगायतका मुद्दालाई नकारात्मक सूचीमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad