ad ad

समाज


विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि...

विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि...

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ०:१५,

अस्ट्रेलियामा एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अधिकारीहरूले बताएका छन्।

त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्ने क्रममा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ।

बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका छन्। तर, कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ।

अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो।

ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु न्याश्नल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए।

स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए।

‘यो यस्तो घटना हो जुन यसअघि भएको जानकारी छैन। यो एकदमै अनौठो हो,’ नोर्दन टेरिटरी प्रान्तका समुद्रसम्बन्धी वैज्ञानिक क्यारोल पाल्मरले भनिन्।

नदीको पानी धमिलो भएकाले नदीमा एकभन्दा बढी ह्वेल छ कि छैन भनेर पत्ता लगाउन सहज नभएको उनले बताइन्।

ती ह्वेलहरू एन्टार्टिकाको दक्षिणतिर गइरहेको र नदीको क्षेत्रमा पसेर बाहिर निस्कने प्रयासमा झन् भित्र आइपुगेको हुनसक्ने अनुमान छ। एन्टार्टिकाबाट चिसो छलेर बच्चा जन्माउन ह्वेलहरू अस्ट्रेलियातिर आउने र फर्किने गर्छन्।

नदीमा थुप्रै गोहीहरू भए पनि ह्वेलसँग तिनीहरूको द्वन्द्व नहुने अनुमान विज्ञहरूले गरेका छन्।

अहिलेका लागि ह्वेल फर्किने बाटो खुला राख्न त्यहाँबाट समुद्रसम्म डुङ्गालाई प्रतिबन्ध लगाइएको छ।

ह्वेल आफैँ बाटो पहिल्याएर फर्किने आशा गरिएको छ। तर अहिलेसम्म समुद्रबाट २० किलोमिटर टाढा नदी गहिरो भएको स्थानमा यो बसिरहेको छ। -बिबिसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .