ad ad

समाज


बेलायतमा नियमविपरीत जन्मदिन मनाउने एक विद्यार्थीलाई १५ लाख जरिवाना!

बेलायतमा नियमविपरीत जन्मदिन मनाउने एक विद्यार्थीलाई १५ लाख जरिवाना!

मगेन्द्र राई
भदौ २९, २०७७ सोमबार ३:४१,

बेलायतमा कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको नियम उल्लंघन गरेको भन्दै एक विद्यार्थीलाई १० हजार पाउन्ड (नेपाली १५ लाख १ हजार ७ सय रुपैयाँ) जरिवाना गरिएको छ।

स्टुअर्ट हक-

hakbi

द सनले जनाएअनुसार नाटिङ्घम विश्वविद्यालयमा राजनीति शास्त्र अध्ययनरत १९ वर्षीय स्टुअर्ट हकले आफ्नो जन्मदिन मनाउने क्रममा गत शुक्रबार ५० जना भेला गराएका थिए। त्यस क्रममा होहल्ला भएपछि प्रहरीले पक्राउ गरी उनलाई उल्लिखित रकम जरिवाना तिराएको हो।

कोरोना नियन्त्रणका लागि बेलायत सरकारले ३० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ।

जरिवानापश्चात् हकले छिमेकीहरूलाई माफीपत्रसमेत लेखेका छन्। उनलाई जरिवाना भएपछि छिमेकीहरू सन्तुष्ट भएका छन्।

स्थानीय संघका अध्यक्ष जो रौडीले भने, ‘उनीहरूको गतिविधिले यहाँका बासिन्दा धेरै चिन्तामा थिए, उनलाई कारबाही भएकामा हामी खुसी छौं, यी कुरा विद्यार्थीले बुझ्नुपर्छ र गल्ती गर्नेले सजाय पाउनुपर्छ।
नटिङघमसयर प्रहरीका प्रमुख कन्स्टेबल स्टिभ कुपरले कोरोना रोकथामका लागि नियम कडाइसाथ लागू गर्ने बताएका छन्।

उनले भने, ‘हामी सबैले हेक्का राख्नुपर्छ कि हामी अझै विश्वव्यापी महामारीको बीचमा छौं र हामी सबैले आआफ्नो कार्यको उत्तरदायित्व लिन र जिम्मेवारी वहन गर्न जरुरी छ। नियमहरू उल्लंघन गर्नेलाई हामी कानुनको दायरामा ल्याउनेछौं।’

दोस्रो लहरको भय
बेलायतमा दैनिक कोरोना संक्रमण हुने क्रम बढ्न थालेपछि दोस्रो लहरको भय पैदा भएको छ। आइतबार मात्र ३ हजार ३३० जनामा संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ।

जुन संख्या गत ४ महिनापछिकै बढी दैनिक दर हो। संक्रमण दोब्बर रूपमा बढ्न थालेपछि विशेषज्ञले ‘दोस्रो लहर’ को चेतावनी दिएका छन्।

गत तीन दिनबाट लगातार ३ हजारभन्दा बढी संक्रमण देखिएको छ। बेलायतमा हालसम्म ३ लाख ६८ हजार ५०४ संक्रमित तथा ४१ हजार ६२८ बिरामीको मृत्यु भइसकेको छ। जसमध्ये करिब ७० नेपाली रहेको बताइन्छ।

‘रुल अफ सिक्स’ लागू

कोरोना संक्रमण बढ्न थालेपछि हङकङ सरकारले आज सेप्टेम्बर १४ देखि ‘रुल अफ सिक्स’ अर्थात् ६ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको छ।

यसभन्दा अगाडि ३० जनासम्म भेला हुन पाइन्थ्यो। आजदेखि भने निजी आवास, पब, इन्डोर र आउट डोरलगायत स्थानमा पनि ६ जनाभन्दा बढी भेला हुन पाइने छैन।

नियम उल्लंघन गर्नेलाई घटनास्थलमै १०० पाउन्ड जरिवाना गरिनेछ भने जरिवाना तिर्न अस्वीकार गर्नेलाई पक्राउ गरी अदालत पेस गर्ने चेतावनी दिइएको छ।

साथै पटकपटक नियम उल्लंघन गर्नेलाई ३ हजार २०० पाउन्ड, ठूलो संख्यामा भेला गराउनेलाई १० हजार पाउन्ड जरिवाना गरिनेछ।

तर विद्यालय, कार्यक्षेत्र आदिमा भने यो नियम लागू हुने छैन। गृहसचिव प्रिती पटेलले भनेकी छन्, ‘हामीले जतिसक्दो चाँडो सामान्य जीवनमा फर्किन ‘रुल अफ सिक्स’ को अनुशरण गर्न जरुरी छ।’

साथै पटेलले नियम उल्लंघन गर्नेको ‘क्रिमिनल रेकर्ड’ (अपराध सूची) समेत राख्न सकिने चेतावनी दिएकी छन्। बेलायतमा क्रिमिनल रेकर्ड भए नोकरीबाट बर्खास्त तथा भविष्यमा नोकरी गर्नबाट समेत वञ्चित हुने सम्भावना रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .