ad ad

समाज


कोरोना ‘हटस्पट’ वीरगन्जको जनजीवन सामान्य बन्दै, खुल्न थाले पसल

कोरोना ‘हटस्पट’ वीरगन्जको जनजीवन सामान्य बन्दै, खुल्न थाले पसल

उजिर कार्की
भदौ २७, २०७७ शनिबार ३:२१,

काठमाडौंपछि देशमा सबैभन्दा पहिले कोरोना संक्रमण सुरु भएको सहर हो– पर्साको वीरगन्ज। जहाँ भारतबाट आएका ११ जना जमातीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिएको थियो।

त्यसपछि वीरगन्ज कोरोनाको हटस्पट बनेको थियो। वीरगन्जमा दैनिक डेढ सय जनासम्म संक्रमित देखिएका थिए। अस्पतालका डाक्टरसहित झण्डै सय स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्थिति भयावह भएको थियो।

स्थिति खराब बन्दै गएपछि वीरगन्जका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी एक दिनको फरकमा फेरिएका थिए।

प्रमुख जिल्ला अधिकारी परिवर्तन भएसँगै वीरगन्जको योजना पनि परिवर्तन भयो। योसँगै आज वीरगन्जको अवस्था पनि परिवर्तन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पर्सामा जम्मा तीन जनामा मात्रै संक्रमण देखिएको छ। यो पछिल्लो दुई महिनायताकै कम हो।

पर्सामा २ हजार ४ सय २७ जनामा संक्रमण देखिएकामा दोब्बर निको भइसकेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार १ हजार ६ सय ४३ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्।

हाल संक्रमित देखिएका ७ सय ८४ जनामध्ये पनि धेरैजसो डिस्चार्ज हुने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

आफू पर्सा गएपछि कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न नयाँ तरिकाले लागेको उनको भनाइ छ। भदौ ६ गते १ सय २० जनामा मात्रै संक्रमण देखिएयता पर्सा कोरोना नियन्त्रण-उन्मुख भएको हो।

पछिल्लो ५ दिनमा पर्सामा ३३ जना मात्रै संक्रमित थपिएका छन्। त्यहाँ दैनिक ३ सय हाराहारीमा नमुना परीक्षण भइरहेको छ।

‘अब चेन ब्रेक भएको छ। हाम्रो स्ट्राटेजी सफल भएको छ। विज्ञले भनेका कुरा हामीले कडाइसाथ कार्यान्वयन नै गरेका हौं। निषेधाज्ञा कडाइसाथ लागू गरायौं, कन्ट्याक ट्रेसिङ पनि प्रभावकारी बनायौं,’ सीडीओ तामाङले भने।

उनका अनुसार कन्ट्याक टे«सिङका लागि समूह नै बनाएर स्थानीय तहका जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मीसम्म परिचालन गरिएको थियो।

वीरगन्जमा संक्रमण भयावह बन्दै गएपछि केन्द्रबाट ८ जना विज्ञ डाक्टरको टोली नै त्यहाँ पुगेर काम गरिरहेको छ। टोली अस्पताल व्यवस्थापनदेखि संक्रमण नियन्त्रणसम्मका काममा खटियो।

यस्तै नारायणी अस्पतालका डाक्टर र स्थानीय स्वास्थ्यकर्मीलाई पनि परिचालन गरिएको थियो। आयुर्वेर्दिक औषधि र योगले पनि संक्रमितलाई स्वस्थ हुन मद्दत पुर्‍याएकाे प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

संक्रमित घटे पनि सतर्कता नघटेको र शुक्रबार मात्रै नेसनल मेडिकल कलेजमा संक्रमितलाई राख्न व्यवस्था गरिएको छ। ८ भेन्टिलेटरसहित १६ आईसीयू बेड, २६ क्याबिन व्यवस्था गरिएको छ। यो अस्पतालमा पनि पीसीआर मेसिन र ल्याबसहितको सुविधा रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

समय तोकेर पसल खुलाउन अनुमति

संक्रमितको संख्या घट्दै गएपछि वीरगन्ज बजार खुला गर्न थालिएको छ। निषेधाज्ञा भदौ ३१ गतेसम्मका लागि थपिए पनि तोकिएको समयमा पसल खोल्न दिने निर्णय भएको पर्साकी प्रहरी प्रमुख, एसपी गंगा पन्तले जानकारी दिनइन्।

उनका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रभित्रका पसल शनिबारबाहेक दिउँसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुन थालेका छन्।

तर पसल सञ्चालन गर्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न र भीडभाड नहुने व्यवस्था मिलाउन भनिएको छ। तरकारी तथा फलफूल पसलका लागि रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर (स्कुलदेखि दक्षिण) सम्म एकतर्फी रूपमा मात्र पसल राख्न र दुई पसलबीच १५ फिट फरक राख्न भनिएको छ। यो अवधिमा यो सडक खण्डमा यात्रुबाहक तथा मालबाहक गाडी चलाउन भने पाइने छैन।

संक्रमण घट्दै गएपछि जनजीवन सामान्य बनाउने काम पनि भइरहेको एसपी पन्तले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .