गत साउन १३ गते सुन्धारामा बरामद भएको आधा किलो सुन बैंकबाटै खरिद भएको खुलासा भएको छ। सुन्धाराका एक व्यापारीले बैंकबाट लगेको सुन तस्करको हातमा पुगेको हो।
प्रहरी अनुसन्धानमा न्युरोडका दुई व्यापारीको समेत संलग्नता खुलेपछि उनीहरुलाई पक्राउ गरिएको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरुमाथि पनि अनुसन्धान भइरहेको छ।
भदौ १५ गते पक्राउ परेका न्युरोडस्थित लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारले बैंकबाट किनेको सुन तस्करलाई बेचेको खुलेको हो।
नेपालमा वाणिज्य बैंकहरुले मात्रै विदेशबाट सुन खरिद गर्न पाउने व्यवस्था छ। बैंकहरुले खरिद गरेको सुन नेपाल सुनचाँदी व्यवसायी संघको सिफारिसमा बैंकले सुनचाँदी व्यवसायीलाई बिक्री गर्छन्।
ज्वेलर्सले वाणिज्य बैंकहरुबाट खरिद गरेको सुन गहना बनाएर बेच्न पाउने भएपनि यसरी ढिकै बेच्न मिल्दैन। विजय ताम्राकारले भने बैंकबाट खरिद गरेको आधा केजी सुन श्रीनिवास उपाध्यायलाई बेचेको र उपाध्यायले निलेश सखियालाई बेचेको पाइएको एसपी राठौरले नेपालखबरलाई बताए।
सुन्धारामा बरामद सुनको बिस्कुट कहाँबाट आयो भनेर अनुसन्धान गर्ने क्रममा यी दुई व्यापारीसम्म प्रहरी पुगेको हो। साढे १५ किलो चाँदी भने न्यूरोडकै सिल्भर स्टेट ज्वेलरीबाट किनेको पाइएको छ। चाँदी ढिका नै बेच्न पाउने भएकाले ती व्यापारी पक्राउ परेका छैनन्।
साउन १३ गते भएको उक्त घटनामा दुई प्रहरी जवान प्रशन्न श्रेष्ठ र बहादुरसिंह कडायतसहित ११ जना पक्राउ परेका छन्।
घटनामा संलग्न भएको आरोपमा इल्ताफ हुसेन अन्सारी, निलेश सखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रशन्नका घरबेटी उमेश श्रेष्ठ, कालिगढ मनिष मल्लिक, ज्वेलरी सञ्चालक श्रीनिवास उपाध्याय र विजय ताम्राकार गरी ११ जना प्रहरी हिरासतमा छन्।
भारतीय नागरिक सञ्जय पटेल र विकास अग्रवाल भने फरार छन्। उनीहरुमाथि संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। यो मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ।
Shares

प्रतिक्रिया