भारतमा कोरोना संक्रमण लगातार बढिरहेको छ तर सँगसँगै त्यहाँ फैलाइएको अफवाहका कारण परीक्षणमा बाधा पुगेको छ।
बीबीसी हिन्दीका अनुसार पञ्जाबमा कोरोना एउटा बहाना हो, यसको निहुँमा मानिसका अंग निकाल्छन् भन्ने भ्रम फैलाइएको हो।
जसका कारण त्यहाँका धेरै मानिस कोरोना परीक्षण गराउनै डराउन थालेका छन्।
पञ्जाबको संगरुर जिल्लाका बासिन्दा सोनिया कोर भन्छिन्, ‘मानिसको अंगको तस्करी भइरहेको छ, यो त्रास गाउँमा मात्र नभएर सबैतिर फैलिएको छ। सामाजिक सञ्जालमा समेत यस्तै खबर छाएका छन्।’
उनका अनुसार कोरोना जाँच तथा उपचारका बहानमा मानिसको अंग निकालिन्छन्। यस्तो कुरा पञ्जाबको ग्रामीण क्षेत्रका धेरै बासिन्दाले बताएका छन्।
यस्तो त्रास सामाजिक सञ्जाल, त्यसमा पनि ह्वाट्सएपले तीव्र रूपमा फैलाइरहेको छ। यही हल्लका कारण कतिपय स्थानमा विरोध प्रदर्शन र स्वास्थ्यकर्मीलाई आक्रमणसमेत भइरहेका छन्।
सोनियाको गाउँमा नमुना संकलन गर्न आएका स्वास्थ्यकर्मीको टोलीलाई भित्र पस्नै दिइएन। ढुंगामुढा गर्दै ‘हामीलाई कोरोना परीक्षण गर्नु छैन’ भन्दै स्वास्थ्यकर्मीलाई फर्किन बाध्य पारियो।
पञ्जाबका स्वास्थ्यमन्त्री बलवीर सिंह सिद्धले बीबीसी हिन्दीसँग भनेका छन्, ‘यस्तै अफवाहका कारण हो, कोरोना संक्रमणबाट मृत्यु हुने क्रम नरोकिएको। शवलाई बाँधेर अन्त्येष्टिका लागि पठाइन्छ। अंग निकाल्ने त प्रश्नै हुँदैन।’
पञ्जाबमा यस्ता अफवाह फैलिनु नयाँ कुरा होइन। तर पछिल्लो समय कोरोना परीक्षणकै विरोध व्यापक बनेको छ। जसले गर्दा कोरोना नियन्त्रण गर्ने सरकारको प्रयास प्रभावकारी हुन सकेको छैन।
पञ्जाबमा पछिल्लो केही हप्तायता कोरोना संक्रमण लगातार बढिरहेको छ। त्यहाँका अधिकारीले मृत्यु बढ्नाको कारण नै परीक्षणमा ढिलासुस्ती हो भनेका छन्।

प्रतिक्रिया