छापा खबर


सुशान्त मृत्यु प्रकरण : लहरो तान्दा पहरो गर्जंदै

सुशान्त मृत्यु प्रकरण : लहरो तान्दा पहरो गर्जंदै

नेपालखबर
भदौ २५, २०७७ बिहिबार २:११,

बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि लहरो तान्दा पहरो जाने अवस्था देखिएको छ।

सुशान्तको निधनको कारण खोतल्दै जाँदा बलिउडका कलाकारले लागूऔषध सेवन गरेकादेखि सुशान्तको पक्षमा आवाज उठाउने कंगना रनावतको कार्यालयमा डोजर चलेको छ।

यो घटना कुनै थ्रिलर फिल्मको कथाजस्तै ‘अब के पो होला’ भन्ने ढंगले अघि बढिरहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कृष्णराज सर्वहारीले लेखेका छन्।

सुशान्तसिंहको आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्ती अनन्तः पक्राउ परेकी छन्। रियालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएको हो। लागूऔषध सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलबार साँझ नियन्त्रणमा लिएको थियो।

त्यसो त रियाको पक्षमा आईएम विथ रिया भन्दै अनुराग कश्यप, फरहान अख्तर, शवाना आजमी, करिना कपुर, विद्या बालन, अभय देओल, मलाइका अरोडरा, सोनम कपुरलगायत धेरै कलाकारको समर्थन छ। रियाको पक्षमा प्रायः एन्टी मोदी भनिने कलाकार छन्। तर, कंगनाको कार्यालय उजाडिँदा पनि अनुपम खेरबाहेक उनका पक्षमा चर्चित कलाकारले मुख खोलेका छैनन्।

लागूऔषध सेवनसहित कैयौं आरोपमा यसै साता रियामाथि एनसीबीले लगातार तीन दिन सोधपुछ गरेको थियो। उनले आफूले सुशान्तको दबाबमा गाँजा र केही केमिकल सेवन गरेको बयान दिएपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो। जबकि त्यसअघि उनले सुशान्तका लागि लागूऔषध आउने गरेको तर आफूले कहिल्यै सेवन नगरेको बयान दिँदै आएकी थिइन्।

यसअघि एनसीबीले लागूऔषध प्रकरणमा संलग्नता देखिएपछि रियाका भाइ सौविक चक्रवर्ती, नायक सुशान्तका प्रबन्धक समुएल मिरन्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त पक्राउ परिसकेका छन्। तिनीहरूलाई पनि लागूपदार्थ खरिद र कारोबार गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।

अहिले लागूऔषध प्रयोग प्रकरणमा पक्राउ परेकी रियाको सुशान्तको आत्महत्यासँग कनेक्सन छ कि छैन भन्ने जाँच चलिरहेको छ। स्मरण रहोस्, रियाले लागूऔषध सेवन तथा ओसारपसारमा संलग्न केही कलाकारको नामसमेत उल्लेख गरेकी छन्।

यसले बलिउडमा भुइँचालो गएको छ। उनले ककसको नाम पोलेकी छन्। त्यसको मुखुण्डो केही दिनमै उघारिने देखिन्छ। गहन अनुसन्धान गरिएमा बलिउडका ठूला हस्तीहरूको असली अनुहार उदांगो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad