युनिभर्सिटी अफ अक्सफोर्ड र अस्ट्राजेनेका नामक कम्पनीले बनाउँदै गरेको खोपको परीक्षण रोकिएको छ। परीक्षणमा सहभागी एक व्यक्तिमा खोपको दुष्प्रभाव देखिएपछि सो निर्णय लिइएको हो।
कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी मानिएका र हाल अन्तिम चरणको परीक्षण चलिरहेका ६ मध्ये एक खोप यो पनि थियो।
बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी १७ हजार मानिसमा यो खोप लगाइसकिएको छ।
अस्ट्राजेनेकाका प्रवक्ताले एक जना सहभागीमा नराम्रो असर परेपछि तत्कालका लागि परीक्षण रोकिएको बताएका छन्। खोप विकासका क्रममा परीक्षण रोकिनु सामान्य भएको उनको भनाइ छ।
तर, ती सहभागीमा कस्तो असर देखिएको हो भन्ने चाहिँ बताइएको छैन।
यद्यपि न्युयोर्क टाइम्सले सो खोप लगाएका एक व्यक्तिको स्पाइनल कर्डमा समस्या उत्पन्न भएको जनाएको छ।
सो खोप जनवरीसम्ममा सार्वजनिक रुपमा उपलब्ध हुने अपेक्षा गरिएको थियो।
अमेरिकाले सो खोपको १० करोड डोज किन्ने सम्झौता गरिसकेको छ। एजेन्सी
प्रतिक्रिया