बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ। आरोपित तीनै जनालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
किशोरीको मंजुरीमै करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने उनले बताए।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई ललाइफकाई वा मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ। कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।
बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। ‘हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ। पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ। यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन,’ उनले भने।
पीडित किशोरीसँगै उनका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो।
पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।
किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनी विद्यालयमै शिक्षकबाट बलात्कृत भएको घटना सार्वजनिक भएको हो। बलात्कारको घटना केही महिना अघिकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन्। रासस
याे पनि अन्तै बिहे गरेकी किशाेरीले ६ महिनामै शिशु जन्माएपछि शिक्षकले बलात्कार गरेको खुलासा

प्रतिक्रिया