कोरोना संक्रमणको जाेखिमकाबिच अग्रपंत्तिमा खटिएर समाचार संकलन गर्ने ७५ जना सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान गरिएको छ।
सोमबार निशानदेवी मिडिया प्रालिले विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीलाई प्रेस ज्याकेट, मास्क, ग्लोब्स र भाइजर (फेस सिल्ड) प्रदान गरेको हो।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्वअध्यक्ष छिरिङ राप्के लामाको पहलमा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, महासचिव छोन्जोम लामा, ढोक्प्य किदुग अमेरिकाका सदस्य दावा शेर्पा,लगायतले गरेको सहयोगबाट सुरक्षा सामग्री प्रदान गरिएको निशान न्यूज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले जानकारी दिए।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सञ्चारकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा महासंघका महासचिव विष्टले सरकारले पत्रकारको पेशागत सुरक्षा गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले आजसम्म झण्डै १ सय जनाभन्दा बढी सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भैसकेको उल्लेख गर्दै यस्तो बेलामा जोगिएर काम गर्न आग्रह गरे।
प्रतिक्रिया