समाज


प्रदेश ५ मा काेराेना संक्रमणबाट दैनिक एकजनाले गुमाउँछन् ज्यान

प्रदेश ५ मा काेराेना संक्रमणबाट दैनिक एकजनाले गुमाउँछन् ज्यान

प्रकाश न्यौपाने
भदौ १९, २०७७ शुक्रबार ९:५०,

प्रदेश ५ मा भदौ लागेपछि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ। यहाँ भदौयता मात्रै औषतमा दैनिक एक जना भन्दा बढी कोरोना संक्रमितको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म ३८ जना संक्रमितको मृत्यु भएको छ। भदौ लागेपछि १९ गते दिउँसोसम्म मात्रै २५ जनाको मृत्यु भएको छ।

‘भदौमा मृतकको संख्या निकै बढेको छ। ३० वर्षमाथिका दीर्घ रोगीहरुमा संक्रमण देखिएपछि धेरै जनाको मृत्यु भयो’, मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले भने।

मृतक सबैमा कोरोनाको लक्षण देखिएको छ।

कोरोना महामारी सुरुपछि साउन मसान्तसम्म प्रदेशमा मृतकको संख्या जम्मा १३ मात्रै थियो। यो संख्या अहिले निकै बढेको छ। शुक्रबार मात्रै कोरोना संक्रमण देखिएका ३ जनाको मृत्यु भएको छ।

१२ वटा जिल्ला रहेको प्रदेशमा रुकुम पूर्व र रोल्पाबाहेकका १० जिल्लामा कोरोना संत्रमितको मृत्यु भएको हो। संक्रमितमध्ये रुपन्देहीमा सबैभन्दा बढीको ज्यान गएको छ। शुक्रबारसम्म रुपन्देहीमा १४ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै, कपिलवस्तुका ४, बाँकेका ६, गुल्मीका ३, दाङ, पश्चिम नवलपरासी, अर्घाखाँची, प्यूठान, पाल्पाका २।२ जना र बर्दियाका १ जना संक्रमितको मृत्यु भएको छ।

ज्यान गुमाएका अधिकांश युवाहरुमा कोरोना संक्रमणपछि श्वासप्रश्वास, उच्च रक्तचाप, प्रेसरको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। यस्तै, मृतक वृद्धहरु धेरैमा दीर्घ रोग मुटु, प्रेसर, सुगर, फोक्सोको समस्या देखिएको छ।

कतिपय मृतक निमोनिया, किड्नीका विरामीसमेत छन्। भदौ लागेपछि लक्षणसहितका संक्रमित ह्वात्तै बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरको अभाव भएको थियो। यसले गर्दा पनि मृतकको संख्या बढेको बताइएको छ। आईसीयू र भेन्टिलेटर भएर पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आएका छैनन्। कयौंको त आईसीयू र भेन्टिलेटर अभावमै ज्यान गयो।

मृतक र संक्रमित बढ्दै जाँदा प्रदेश सरकारले सोमबारबाट मात्रै भैरहवाको भीम अस्पतालमा रहेको आईसीयू सञ्चालनमा ल्याएको छ। जनशक्ति अभाव भएपछि बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, बाँके र दाङमा रहेका चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसका लागि लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ निकासा गरको छ।

प्रदेशका तराईका जिल्लाहरुमा खुल्ला सीमा नाकाको फाइदा उठाउँदै नेपाल–भारत आउजाउ गर्नेहरु बढ्नाले पनि प्रदेशमा संक्रमण तीव्र छ। त्यससँगै मृतक पनि बढीरहेका छन्। अर्कोतर्फ संक्रमण बढेको भन्दै भदौ लागेयता प्रदेशका अधिकांश जिल्लामा लकडाउन गरिएको छ। तर सर्वसाधरणको हिँडडुल रोकिएको छैन। सीमा वारपार गर्ने पनि उस्तै छन्।

प्रहरीसँगको सेटिङमा तराईका जिल्लामा रातभर तस्करी गर्नेहरु सहजै नेपाल छिर्छन्। यसले गर्दा पनि समुदायस्तरमै संक्रमण फैलिएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. पौडेल भन्छन्, ‘राज्यको नीतिनियम पालना गरी संक्रमणबाट नागरिक आफैँ जोगिनु पर्छ। स्वास्थ्यका मापदण्ड पालना गरेमा रोगले आक्रामण गर्ने सम्भावना हुँदैन। बाहिर हिँड्दा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, विना काम घर बाहिर ननिस्कने गर्नुपर्छ।’

कोरोना नियन्त्रणमा प्रदेश सरकारले भरपूर्ण प्रयास गरेको भन्दै उनले सबै नागरिकलाई सचेत रहन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad