समाज


कोरोना संक्रमण : शुक्रबार बिहानै थप ४ जनाको मृत्यु, कस्ताे थियाे उनीहरुकाे स्वास्थ्य?

कोरोना संक्रमण : शुक्रबार बिहानै थप ४ जनाको मृत्यु, कस्ताे थियाे उनीहरुकाे स्वास्थ्य?

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ४:३२,

कोरोना संक्रमणको कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्।

भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।

दम र निमोनियाको समस्या देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। ७ भदौमा अस्पतालमा भर्ना भएकी उनको आज बिहान मृत्यु भएको हो।

त्यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन्।

योसँगै झापामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। दमकमा यसअघि एक बृद्धको पनि कोभिडका कारण मृत्यु भएको थियो। आज मृत्यु भएका वृद्ध एक साता अघि नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल पुगेका थिए।

त्यसपछि पीसीआर परीक्षण गराउँदा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो। हाल उनकी नातिनीको भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ।

त्यसैगरी मोरङकी ५६ वर्षीया एक महिलाको पनि शुक्रबार बिहान पौने ४ बजेतिर धरानमा मृत्यु भएको छ। उनमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकले बताएका छन्।

योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ।

त्यसैगरी कोरोना संक्रमणको कारण भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि पुगेकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

उच्च रक्तचापकी बिरामी महिलामा मृत्युपछि मात्र कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए।

 आज मृत्यु भएका चारसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८८ पुगेको छ।

याे पनि भक्तपुरमा गम्भीर बिरामीलाई पाँच दिनपछि मात्र अस्पताल लगियो, मृत्युपछि कोरोना पुष्टि

याे पनि धरानमा बिहानै थप दुई संक्रमितको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .