अहिले (बिहीबार बिहान ६ बजे) देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि देशका केही स्थानमा यस्तै (मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम) वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, प्रदेश ५, कर्णाली सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
साथै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भूभागनजिक छ। साथै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको पनि प्रभाव परिरहेकाे छ।

प्रतिक्रिया