समाज


आज यी स्थानमा भारी वर्षाको सम्भावना, २४ घण्टासम्म सतर्क बनौं

आज यी स्थानमा भारी वर्षाको सम्भावना, २४ घण्टासम्म सतर्क बनौं

नेपालखबर
भदौ १०, २०७७ बुधबार ०:३५,

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले (बुधबार बिहान) मौसम देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘सुदूरपश्चिमका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको हुन सक्छ,’ बुधबार बिहान साढे ६ बजे नेपालखबरसँग मौसमविद् प्रतिभा मानन्धरले भनिन्। 

यस्तै दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। 

‘दिउँसो भनेको अहिलेदेखि नै दिनभरको कुरा हो,’ उनले भनिन्।

उनका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘भारी वर्षाको सम्भावनाचाहिँ कम छ।’

यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–

‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad