छापा खबर


कोरोना बिमा गर्नेको संख्या पौने आठ लाख, कसरी गर्ने यो बिमा?

कोरोना बिमा गर्नेको संख्या पौने आठ लाख, कसरी गर्ने यो बिमा?

नेपालखबर
भदौ १०, २०७७ बुधबार ०:४९,

कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ।

बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ।

बिमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बिमा गरेका छन् । परिवारको एउटा मात्र बिमा पोलिसी हुने कारणले गर्दा भने हालसम्ममा ८४ हजारओटा पोलिसी जारी भएको छ।

कोरोना बिमाबाट मात्र ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए। यो खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।

कोरोना बिमा गर्न एक्लैको एक लाख रुपैयाँको बिमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ । ५० हजारको एक्लैको गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बिमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बिमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्नुपर्ने हुन्छ।

बिमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ।

बिमा समितिका अनुसार अहिलेसम्ममा १ लाख रुपैयाँको बिमा गर्नेमध्ये ७१ जनाले भुक्तानी पाइसकेका छन् भने ३ सयवटा भुक्तानीको प्रक्रियामा रहेको छ । ५० हजार रुपैयाँको बिमा गर्नेमध्ये नौवटाको भुक्तानी भइसकेको छ भने २६ वटा प्रक्रियामा रहेको छ ।

सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँ बिमांकको बिमा १ सय ५० रुपैयाँमै गर्न सकिनेछ ।

बिमा गर्ने मापदण्डमा सामूहिक कोरोना बिमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरू उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने प्रावधान छ । सामूहिक कोरोना बिमा खरिद गर्न चाहने संस्थाले पनि ३० दिनसम्म नेपालमा बसोबास गरेको प्रमाणित गरेको खण्डमा सरकारले ५० प्रतिशत प्रिमियम बेहोरिदिने बिमा समितिले स्पष्ट पारेको छ ।

सरकारको चालु आर्थिक बर्षको बजेट वक्तव्यमा आम नागरिकले गर्ने सामूहिक कोरोना बिमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराउने र सरकारी कर्मचारीको हकमा पूरै बेहोरिदिने उल्लेख छ ।

बिमालेख खरिद गरेको १५ दिनपछि र पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बिमालेखबमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका लागि बिमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिनभित्र बिमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ।

दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ । सरकारी कर्मचारीहरूको सामूहिक कोरोना बिमा गर्दा सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउनेछ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बिमा समितिबाट इजाजतपत्र प्राप्त नेपालका २० वटा निर्जीवन बिमा कम्पनीहरूमार्फत बिक्री भइरहेको बिमा पोलिसी हो।

बिमा गर्नका लागि सुरुमा परिवारको नागरिकताको फोटोकपीसहित वडा कार्यालयमा जानुपर्छ । वडा कार्यालयले सोही वडामा १ महिनादेखि आफ्नै घरमा वा डेरामा बस्दै आएको भनेर प्रमाणित गरेपछि सोको प्रतिलिपि र परिवारका सबैजनाको नागरिकताको प्रतिलिपि कुनै पनि निर्जीवन बिमा कम्पनीको इमेल वा भाइबर वा ह्वाटस एपमा पठाउनुपर्ने हुन्छ।

बिमा कम्पनीले फारम पठाएको खण्डमा फारम भर्ने हो भने चिठीमा स्वघोषणा गरी परिवारको विवरण पठाउनुपर्छ । त्यसपछि बिमा कम्पनीले पोलिसी बनाएपछि इसेवाबाट वा इबैंकिङबाट शुल्क तिरेपछि कोरोना बिमा हुनेछ । कोरोना बिमाको म्याद २०७८ सालको असारसम्मलाई मात्र मान्य हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad