छापा खबर


असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्न यसरी हुँदै छ तयारी

असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्न यसरी हुँदै छ तयारी

नेपालखबर
भदौ १०, २०७७ बुधबार ०:३४,

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए।

खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ।

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो।

धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए।

यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad