ad ad

समाज


काठमाडौंमा १५ दिनमा ६ सय बेडको कोभिड अस्पताल बनाउने बायोमेट्रिक्सको तयारी

काठमाडौंमा १५ दिनमा ६ सय बेडको कोभिड अस्पताल बनाउने बायोमेट्रिक्सको तयारी

यज्ञराज जोशी
भदौ ८, २०७७ सोमबार १०:३,

बायोमेट्रिक्स प्रालि नामक कम्पनीले १५ दिनभित्र काठमाडौंमा १ सय शैय्या आईसीयूसहित ६ सय शैय्याको अस्थायी कोभिड अस्पताल बनाउन सरकारसमक्ष प्रस्ताव लगेको छ।

काठमाडौं उपत्यकामा कोभिडका बिरामी बढ्दै गएपछि छुट्टै कोभिड अस्पताल आवश्यक रहेको भन्दै अस्पताल निर्माणको प्रस्ताव आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको बायोमेट्रिक्सका निर्देशक भीमकान्त भण्डारीले बताए।

‘कोभिडका बिरामी दिनप्रतिदिन बढ्दैछन्। अधिकांश अस्पतालहरुले कोभिडका बिरामी भर्ना गर्न नमानिरहेका बेला हामीले यो प्रस्ताव अघि सारेका हौं,’ भण्डारीले भने, ‘हामीले ६ सय बेडको अस्पताल बनाउँदा अर्काे व्यक्ति वा संस्थाले हजार बेडको अस्पताल बनाउन र उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो चाहना हो।’

प्रस्तावमा सरकारले काठमाडौं उपत्यकाभित्र ६ सय बेडको अस्थायी अस्पताल निर्माणका लागि लाग्ने जग्गा उपलब्ध गराए आफूहरुले १५ दिनभित्र अस्पताल निर्माण गरिसक्ने जनाइएको छ।

Bhim Bhandari2

अस्पतालका लागि उपलब्ध गराइने जग्गाको भाडा तिर्न पनि आफूहरु तयार रहेको भण्डारीले बताए। प्रस्तावमा कीर्तिपुरस्थित त्रिवि क्षेत्र, भृकुटीमण्डप, सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको भवन, खुमलटारको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, चाबहिलको तारागाउँ विकास समिति वा उपत्यकाभित्र अन्य कुनै स्थानमा सय रोपनी जग्गा सरकारले उपलब्ध गराए अस्पताल बनाउन सकिने जनाइएको छ।

उपत्यकामा मात्रै दुई हजार बढी कोरोना संक्रमित फेला परिसकेको र यो संख्या दैनिक दुई सयभन्दा बढीले थपिइरहेको अवस्थामा कोभिडका बिरामीका लागि छुट्याइएका सरकारी अस्पताल भरिन थालेका छन्। यस्तो अवस्थामा सरकारले निजी क्षेत्रका अस्पताललाई २० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन निरन्तर ताकेता गर्दै आएको छ। तर, निजी अस्पतालहरुले भने कोभिड र ननकोभिडका बिरामी एकै ठाउँमा राख्न नहुने भन्दै त्यसको अवज्ञा गर्दै आएका छन्।

यस्तो अवस्थामा निजी अस्पतालसँगको सहकार्यमा उनीहरुले राख्नुपर्ने २० प्रतिशत बिरामीको उपचार पनि आफूहरुले गर्नसक्ने भण्डारीले जनाए।

Covidhospital HK
संक्रमितको संख्या बढेपछि हङकङमा केही साताअघि बनाइएको कोभिड अस्पताल (एससीएमपी)

१५ दिनमा अस्पताल तयार होला?
बायोमेट्क्सिकै टोलीले यसअघि कुपन्डोलमा कोरोना संक्रमण परीक्षणका लागि बिध ल्याब सञ्चालनमा ल्याएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त यस ल्याबले दैनिक चार हजार नमुना जाँच्न सक्छ। सरकारले कोरोना परीक्षणका लागि ५५ सय रुपैयाँ शुल्क तोकेपनि बिधले ४५ सयमै परीक्षण गर्दै आएको छ। भीटीएम आवश्यक नपर्ने ल्याबमै पु¥याइएका नमुना परीक्षणका लागि ४ हजार मात्र लिने गरिएको भण्डारीले बताए।

बिध ल्याबले करिब एक दर्जन आफ्नै भ्यान राखेर कार्यालयहरूमै पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाएको छ, जुन सुरक्षित, भरपर्दो र सहज मानिएको छ। सरकारी परीक्षण रिपोर्ट आउन केही दिन कुर्नुपर्ने अवस्थामा बिधले १२ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट दिने व्यवस्था मिलाएको छ।

सरकारले परीक्षणको दायरा बढाउन निजी क्षेत्रका ल्याबलाई पनि अनुमति दिने निर्णय गरेसँगै ९ दिनमा ल्याबको सम्पूर्ण संरचना तयार पारिएको भण्डारीको दाबी छ। आफूहरुसँग रातदिन खट्ने जनशक्ति, संयोजन गर्ने टिम भएकाले अस्पताल पनि १५ दिनभित्र निर्माण गरिसक्ने उनी बताउँछन्।

‘मन्त्रालयले प्रस्तावका बारेमा विस्तृत विवरण मागेमा हामी योजना अनुसार आर्थिक विवरण, डिजाइनहरु तत्कालै बुझाउनेछौं,’ बायोमेट्रिक्सका निर्देशक भीमकान्त भण्डारीले भने, ‘हाम्रो योजना अहिले उपत्यकामा जारी निषेधाज्ञा खुल्ने बित्तिकै अस्पताल निर्माण होस् भन्ने हो। कोभिडविरुद्ध लड्न सरकारी र निजी क्षेत्रको पहल आवश्यक भएकाले मन्त्रालय यसबारे सकरात्मक हुने विश्वास लिएका छौं।’

अहिले नै दैनिक ३–४ जना आईसीयूमा जानुपर्ने अवस्था आइसकेको बताउँदै भण्डारीले निषेधाज्ञा खोल्दा झनै संक्रमण बढ्ने बताए।

उनले प्रस्ताव स्वीकृत भए अस्पतालका लागि पोर्टेबल आईसीयूहरु ल्याइने र ३ दिनभित्र अस्पतालको संरचनामा जडान गरिसक्ने गरी ब्याकअप तयार पारेको बताए। यस्तै अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिबारे पनि योजना बनाएर छलफल अघि बढिसकेको बताए।

भण्डारीले अस्पतालमा सरकारले पठाएका बिरामीको सरकारले तोकेको रकमभित्र नै रहेर उपचार गरिने जनाए। यस्तै, त्यसबाहेक आफ्नै खर्चमा उपचार गराउन चाहनेलाई सरकारले तोकेको मापदण्डभित्रै रहेर उपचारको खर्च लिइने उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .