समाज


नयाँ लुगा फेर्ने धोकोसँगै दुवै खुट्टा लग्यो पहिरोले, आर्थिक अभावमा अस्पतालमा छट्पट्याउँदै जीवन

नयाँ लुगा फेर्ने धोकोसँगै दुवै खुट्टा लग्यो पहिरोले, आर्थिक अभावमा अस्पतालमा छट्पट्याउँदै जीवन

प्रकाश न्यौपाने
भदौ ८, २०७७ सोमबार ९:५३,

नजिकिँदो तीज पर्वमा कपडा किन्न भन्दै प्यूठान नौबहिनी गाउँपालिका–८, फप्ली गौराचोकका कर्णबहादुर पुन र उनका छोरा जीवन घरबाट बाहाने बजारतर्फ लागे। घरदेखि केही पर पुगेका थिए। बाटोमा हिँड्दा बाबुछोराको दूरी कम्तिमा ५० मिटर थियो। जीवन अघिअघि र बाबु पछिपछि थिए।

एक्कासी बाटोमाथिको लम्पुक भीरबाट छोराकै अगाडि पहिरो झर्यो। कर्णबहादुर भाग्न सफल भए तर जीवनलाई पहिरोसँगै झरेका ढुंगाले लाग्यो। उनी सख्त घाइते भए। दुबै खुट्टा भाँचिए। तीज मान्न छोरालाई नयाँ कपडा किनिदिने कर्णबहादुरको सपना त्यही तुहियो। यो गत साउन ३० गतेको घटना हो।

‘खुशीसाथ तीज मनाउँला भन्ने थियो। बीच बाटोमै दैवदशा लाग्यो। अस्पतालको बास भयो’, कर्णबहादुर भन्छन्, ‘तुरुन्तै आफन्तलाई खबर गरेँ र प्यूठानको जिल्ला अस्पताल बिजुवारमा ल्याएँ। उपचार सम्भव भएन। एम्बुलेन्स जोहो गरेर उसैदिन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ल्याएँ। अस्पतालले दुबै खुट्टाको तीघ्राको नली भाँचिएर टुक्रा परेको बताएको छ।’

अस्पतालमा ल्याएको ११ दिन हुँदासमेत उपचार खर्च जुटाउन नसक्दा जीवनको खुट्टाको अप्रेसन हुन सकेको छैन। ‘ऋण खोजेर ल्याएको पैसा खानबस्न ठिक्क भएको छ। अप्रेसन गर्न चार लाख रुपैयाँ भन्दा बढी लाग्छ भन्छन्’, कर्णबहादुरले भने, ‘पैसा नभएपछि भौतारिँदै आफन्तलगायत सबै सहयोगी मनहरुलाई याचना गरिरहेको छु।’

अस्पतालले उपचार खर्च नहुँदासम्म अप्रेसन गर्न नसक्ने जनाएको छ । अर्कोतर्फ कोरोना भाइरसको जोखिम भएको भन्दै पीसीआर जाँच गर्न पनि भनिएको छ । ‘पीसीआर जाँच गर्ने पैसा समेत छैन । अप्रेसन कहिले हुने हो भन्ने थाहा छैन । पैसा नजुट्दासम्म उपचार नहुने निश्चित भइसक्यो’, कर्णबहादुरले भने । १३ वर्षीय जीवन उनका एक्ला छोरा हुन् भने १० वर्षकी छोरी पनि छन् । जीवनले कक्षा ७ मा अध्ययन गर्छन् ।

पुन परिवारको आर्थिक अवस्था निकै नाजुक छ। घरको उत्पादनले ३ महिना खान पुग्दैन। कर्णबहादुरले गाउँमा काम गरेर जीविका चलाउँदै र छोराछोरी पढाउँदै आएका छन्। ‘गरिबीले पिल्सिएको परिवारमा यति ठूलो घटना घट्यो। अब छोरा बचाउने कसरी हो भन्ने चिन्ता मात्रै लाग्छ’, उनले भने। लामो समय अप्रेसन नहुँदा जीवनका खुट्टाका औँलाहरुमा रगत जमेको छ। चोट लागेको ठाउँमा मासु कुहिएको छ।

घाउको दुखाईले गर्दा जीवन रोइरहन्छन्। उनको छट्पटी कर्ण बहादुरले देख्न नसकेर कहिले होटलतर्फ आउँछन् त कहिले मनलाई सम्हालेर बेडको छेउमा बस्छन्। ‘अस्पतालले आर्थिक जोहो गर्न नसक्ने हो भने काठमाडौं लैजानुस् केही सस्तो पर्छ भन्न थालिसकेको छ’, उनी गुनासो गर्छन्। सुरुमा केही दिन आईसीयूमा राखेर उपचार गरिएकोमा अहिले स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा राखिएको छ। ‘८५ हजार रुपैयाँ जति खर्च भइसक्यो। अहिले दैनिक ड्रेसिङ गर्न औषधि किन्ने पैसा समेत छैन’, कर्णबहादुरले दुःख पोख्दै भने, ‘अप्रेसन गर्ने भन्ने त सपना जस्तै भयो।’ उनले होटलमा समेत ११ दिनदेखि उधारो खाना खाँदै आएका छन्।

उनको आर्थिक अवस्था देखेर खाना उधारो खान दिएको र आवश्यक पर्दा २÷४ हजार रुपैयाँ समेत ऋण दिने गरेको मेडिकल कलेजअघि रहेको पश्चिमेली सरु गेस्ट हाउसका सञ्चालक लिलाधर भट्टराईले बताए। ‘उहाँहरुको अवस्था निकै दर्दानक छ। यसैले मैले सक्दो सहयोग गरेको छु’, उनले भने। होटल संचालक भट्टराईकै पहलले प्यूठानमा समेत अहिले आर्थिक संकलनको काम भइरहेको कर्णबहादुर बताउँछन्।

अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीले जीवनको उपचारमा आफूहरुले सक्दो सहयोग गर्ने जनाए। जीवनको उपचारमा डा.प्रकृतिराज कँडेल, डा.किशोरमान श्रेष्ठसहितको चिकित्सकको टोली संलग्न छ। चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाँचिएका छन्। धेरै ठाउँमा भाँचिएकाले अप्रेसन गर्नै जटिल छ।

छोरा घाइते भएदेखि आमाको आँखा ओभाना छैनन्। कर्णबहादुर कहिले सहयोग गर्न सबैमा याचना गरेका छन्। ‘मेरो केही उपाय छैन। छोरालाई बचाउने कसरी हो। कृपया सहयोग गरिदिनुहोला’, उनले सहयोगको याचना गर्दै भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .