समाज


अस्पताल नै बन्न थाले असुरक्षित

अस्पताल नै बन्न थाले असुरक्षित

नारायण अधिकारी
भदौ ७, २०७७ आइतबार ११:५४,

चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन्। जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

अस्पतालहरुमा संक्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ। हालसम्म जिल्लामा ३५२ जनामा संक्रमण देखिएको छ। तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन्। स्वास्थ्य कार्यालय चितवनका गीताञ्जली ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना संक्रमित भएका छन्।

सबैभन्दा बढी बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन्। त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन्।

ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो स.ख्या दैनिकरुपमा बढ्दो छ। अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको संक्रमण देखिएर मृत्यु समेत हुन थालेका छन्। अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन।

जिल्लामा पछिल्लो दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ। ती दुवै जना मकवानपुरबाट आएका हुन्। उनीहरुमध्ये एक महिलालाई एपेन्डिसाइड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा. मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण देखिएको छ।

यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ। अस्पतालका दुई चिकित्सक पनि संक्रमित भएका छन्। यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनको भनाइ छ।

सो अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन्। पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि संक्रमण नियन्त्रणमा कठिन भएको उनले स्वीकार गरे। रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन्। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउछन्। अस्पतालहरुले उपचारमा विशेष सावधानी पु¥याउनु पर्ने उनको भनाइ छ।

कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नुपर्ने उनले बताए। यसरी संक्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने उनको चिन्ता छ। चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउछन्। दुबैथरी बिरामी एकै ठाउँमा उपचार कठिन हुने उनको भनाइ छ। यससँगै दीर्घरोगीको मृत्यु हुन थालेको उनले बताए।

चितवन मेडिकल कलेजमा एक चिकित्सकसहित १२ जना बिरामी संक्रमित भैसकेका छन्। सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको यकिन नहुने र उपचार गर्नेले कम तयारीमा नै उपचार गर्दा पनि रोग फैलन गएको उनी बताउछन्। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा संक्रमण फैलिएको यकिन भन्न नसकिने बताउछन्। अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भैरहेको छ।

तिवारीले कहीँ एउटै अस्पतालमा दुबैथरिका बिरामी उपचार गरेको र कहीँ नगरेको उदाहरण दिए। पहिले कोरोनाका सबै बिरामी भरतपुर अस्पताल पठाइन्थ्यो। अहिले सरकारले जुन अस्पतालमा संक्रमण देखियो त्यहीँ उपचार निरन्तरता दिने जनाएसँगै जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा बिरामी उपचाररत छन्।

जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड ­१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमूना परीक्षण भैरहेको छ। संक्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन्। जानै पर्ने जटिल बिरामी मात्र अस्पताल जान थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad