समाज


तपाईंको मास्क खोइ?

तपाईंको मास्क खोइ?

प्रकाश न्यौपाने
भदौ ४, २०७७ बिहिबार ८:७,

प्रदेश पाँचका तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिइसकेको छ।

यस प्रदेशका पहाडी जिल्लाहरुमा पनि संक्रमण फैलने क्रम जारी छ। संक्रमण फैलिँदै जाँदा अधिकांश जिल्लामा प्रशासनले लकडाउन तथा निषेधाज्ञा जारी गरेको छ। स्थानीय तहहरुले आफैं पनि लकडाउन गरिरहेका छन्।

निश्चित समय तोकेर अत्यावश्क वस्तु खरिदबिक्री गर्न दिइएको छ। बजार खुला रहने बेला सर्वसाधरणको तरकारी तथा खुद्रा पसलहरुमा भीडभाड हुने गरेको छ।

भीडभाडमा जाँदा सर्वसाधरणले मास्क समेत प्रयोग गर्दैनन्। यसले संक्रमण जोखिम झनै बढ्दो छ। संक्रमण जोखिम बढ्दै जाँदा कतिपय ठाउँमा विभिन्न सामाजिक संघसंस्था र प्रहरीले नै तपाईंको मास्क खोइ? भन्ने अभियान चलाएका छन्।

ठाउँठाउँमा बोर्ड टाँगेर प्रश्न गरिरहेका छन्, ‘तपाईंको मास्क खोइ?’

MaskKhoi 1

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले भैरहवा क्षेत्रका मुख्यमुख्य ठाउँमा सचेतनामूलक ब्यानर टाँगेर ‘तपाईंको मास्क खोइ’? भन्ने अभियान थालेको छ।

‘प्रशासनले अत्यावश्यक बाहेकका गतिविधि गर्न रोक लगाएको छ भने अनावश्यकरुपमा घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ,’ लायन्स ग्रिन सिटीका अध्यक्ष शिवनाथ गुप्ताले भने, ‘कोरोना संक्रमित दिनहुँ बढीरहेका छन्। यस्तो बेलामा पनि मास्क नलगाई हिँडेको पाइएपछि हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत तपाईंको मास्क खोइ? भन्ने अभियान थालेका हौं’,

लायन्सले भैरहवा क्षेत्रको अञ्चलपुर, बुद्धचोक, बर्मेलीटोल, मीलनचोक, लुम्बिनीरोड, मेडिकल कलेज, मेउडिहवा, आँखा अस्पताल, देवकोटाचोक, जनकपथ, एअरपोर्ट, बसपार्क, बेलहिया लगायतका ठाउँमा सचेनतामूलक बोर्ड टाँगेर तपाईंको मास्क खोइ? भन्ने अभियान सुरु गरेको गुप्ताले बताए।

‘यसले नागरिकमा सचेतना ल्याउँछ भन्ने हाम्रो बुझाई छ। अनावश्यक मास्क नलगाई लखरलखर हिँड्ने बानी रोक्नुपर्छ भन्ने मुख्य उद्देश्य हो,’ उनले भने।

MaskKhoi 2

खासगरी बढी भीडभाड हुने ठाउँ एकीन गरेर ब्यानर टाँगिएको क्लबले जनाएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले रुपन्देही कोरोना भाइरसको उच्च जोखिममा छ।

नजिकैको सुनौली र नौतनहवा बजारमा दैनिक संक्रमित थपिइरहेका छन्। खुल्ला सीमाको मौका छोपेर आउजाउ बढ्दो छ। यस्तो अवस्थामा क्लबले चलाएको अभियानले संक्रमण फैलनबाट रोक्न थप टेवा पुग्ने स्थानीय पत्रकार नरेश केसीले बताए।

साउन अन्तिमबाट जिल्लाको तिलोत्तमा नगरपालिकामा जागृति युवा क्लबले पनि तपाईंको मास्क खोइ? भन्ने अभियान थालेको थियो।

क्लबका अध्यक्ष विदुर केसीले नागरिकलाई सचेत गराउन अभियान थालिको बताए।

‘मास्कको प्रयोग गर्ने बानी बसाल्नु हाम्रो अभियानको उद्देश्य हो। सबैले अभियानलाई साथ दिएमा नागरिकस्तरमा चेतना बृद्धि हुन्छ,’ उनले भने, ‘जसले गर्दा संक्रमण फैलनबाट केही मात्रामा भए पनि रोक्न सकिन्छ।’

जागृति क्लबले तिलोत्तमाको मुख्य चोकहरुमा सचेतनामूलक ब्यानर राखेको छ। सामाजिक संघसंस्थाले अभियान थालेपछि तिलोत्तमा नगरपालिकाले मास्क प्रयोगलाई अनिवार्य गर्न भन्दै नगर क्षेत्रभित्र मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। बुटवल उपमहानगरमा पनि मास्क लगाउने बानीको विकास गर्ने उद्देश्यले ‘तपाईंको मास्क खोइ?’ भन्ने अभियान चलाइएको छ।

केही दिन अघिबाट दाङमा पैदलयात्री, सवारी चालक, सहचालक र सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई सचेतना जगाउने भन्दै वडा प्रहरी कार्यालय घोराहीले पनि ‘तपाईंको मास्क खोइ?’ भन्ने अभियान सुरु गरेको छ।

MaskKhoi 3

वडा प्रहरी कार्यालयले सडकमा ड्यूटीमा खटिने प्रहरीलाई ‘तपाईंको मास्क खोइ?’ लेखेको प्लकार्ड दिने र त्यसबाटै यात्रुहरुलाई सचेत गराउने अभियान सुरु गरेको प्रहरी निरीक्षक दिनेश रिमालले बताए।

कोरोना संक्रमण फैलँदै गए पनि आम नागरिकले सुरक्षा सतर्कता नअपनाउँदा जोखिम झनै बढेको छ।

मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, भीडभाडमा नजाने, अत्यावश्यक कामबिना घरबाहिर ननिस्कने, सेनिटाइजरको प्रयोग गर्ने हो भने संक्रमण फैलन रोक्न सकिन्छ।

नागरिकस्तरमा चेतना हुँदाहुँदै पनि बेवास्ता गर्ने परिपाटीले समस्या निम्तिरहेको सरोकारवालाहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .