काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरेको छ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई दुई सय शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा खरिपाटीमा क्वारेन्टिन बनाइएको थियो।
सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई पाँच सय शैय्याको आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टिन भवनलाई आइसोलेशनका रुपमा परिणत गरिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.सुमित्रा गौतमले बताइन्।
हाल दुई शैय्याको आइसोलेशन तयार भएपनि तत्काल एक सय शैय्या सञ्चालनमा ल्याएको छ। मेसु गौतमले भनिन्, ‘संघीय सरकार र बाग्गती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टिनलाई आईसोलेशन बनाएका छौँ, सरकारले जनशक्ति पनि पठाईदिने आश्वासन दिएको छ।’
आईसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने दुई सय शैय्यामा कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ।
भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा.गौतमले जानकारी दिइन्।
भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेशनमा टोली परिचालन गरेका छन्।
तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेका छन्।
भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाइएको हो। खरिपाटीस्थित आइसोलेशनमा लक्षण नभएका सङ्क्रमितलाई राखिने जानकारी दिदै डा.गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाईने बताइन्।
वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ। नेपाली सेना, स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने हुने छ। गत सोमबार १ जना कोरोना सङ्क्रमित पुरुषलाई राखेर आइसोलेशन शुरु गरिएको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा सङ्क्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिइन्।
तत्काल दुई सय शैय्याको आइसोलेशन क्षमता रहेपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए एक सय शैय्या थप गरेर तीन सय शैय्यामा विस्तार गर्न सकिने पाण्डेले बताइन्।
भक्तपुर अस्पतालमा आईसियू सेवा
सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसियू) र आइसोलेशन शैय्या सञ्चालनमा ल्याएको छ।
कोरोना सङ्क्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जाँदा समस्या सृजना भएपछि अस्पतालले पाँच शैय्याको आईसियू र तीन वटा भेन्टिलेटरसहितको १५ शैय्याको आईसोलेशन वार्ड सञ्चालनमा ल्याएको हो।
अस्पतालले एक महिना अघि नै आईसियू र आइसोलेशन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसियू सहितको सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो। डा.गौतमले भनिन्, ‘कोरोनाको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य आपतकालिन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आइसियू सञ्चालन गरेका हौँ।’
आपतकालिन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसियू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा शुरु गरिएको हो। आईसियूमा कोरोना सङ्क्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ।
आईसियू र आइसोलेसन वार्ड तयार पारेको महिनौं बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तीका लागि जनशक्ति मागसमेत गरेको छ।
यसैगरी जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्व रहने गरी केन्द्र सञ्चालन गरिएको हो। रासस

प्रतिक्रिया