आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम देखिएको मौसमविद्ले बताएका छन्।
तर दिउँसाेपछि देशभर केही स्थानमा मेघगर्जन/चट्याङासहित वर्षाको सम्भावना रहेको मौसमविद्काे अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान कतै पानी परेको छैन। देशभर मौसम आांशिकदेखि सामान्यसम्मा बदली छ। काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागिरहेको छ।
उनका अनुसार गण्डकीदेखि पूर्व अर्थात् प्रदेश १, २, बागमती प्रदेशमा घाम अलि राम्रोसँग लागेको छ भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा चाहिँ अलि बाक्लो बादल देखिएको छ।
‘तर अपराह्नपछि बदली भई देशका केही स्थानमा हल्कादेखिा मध्यसम्म वर्षाको सम्भावना छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘आजलाई भारी वर्षाको सम्भावना देखिएको छैन।
उनका अनुसार अहिले न्यून चापीय रेखा नेपालभन्दा टाढा दक्षिणतर्फ छ भने भारत बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ। त्यसैका कारण बदली र वर्षाको सम्भावना दोखिएको हो।
‘भोालि बेलुकाबाट भने वर्षा अलि बढ्ने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।


प्रतिक्रिया