समाज


अवैध मिर्गौला प्रत्यारोपण: अभियुक्तसँग २० हजारदेखि ४ लाखसम्म धरौटी माग

अवैध मिर्गौला प्रत्यारोपण: अभियुक्तसँग २० हजारदेखि ४ लाखसम्म धरौटी माग

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:५१,

चितवनको पुरानो मेडिकल कलेजमा भएको अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न रहेका अभियुक्तलाई अदालतले २० हजारदेखि ४ लाख रुपैयाँसम्म धरौटी माग गरेको छ।

जिल्ला अदालत ललितपुरले थुनछेक बहसपछि बुधबार साँझ पक्राउ परेका सबैसँग धरौटी माग गरेको हो।

नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको प्रकरणमा १३ जना पक्राउ परेका छन्। अरु ७ जना फरार रहेको प्रहरीले जनाएको छ।

अदालतले मिर्गौला दिने खोटाङका सन्तोष राईसँग २० हजार रुपैयाँ धरौटी माग गरेको छ। चितवनको पुरानो मेडिकल कलेजको अङ्ग प्रत्यारोपण समितिका दुई चिकित्सक, कानुनी सल्लाहकार र चितवन जिल्ला प्रशासनका अधिकृतसँग जनही ५० हजार रुपैयाँका दरले धरौटी माग गरेको छ।

ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन तथा ललितपुर जिल्ला प्रशासनका दुई जना कर्मचारीसँग ५० हजार रुपैयाँका दरले धरौटी मागिएको छ।

मिर्गौला लिने व्यक्तिकी बहिनी जमुना राजभण्डारी, मध्यस्तकर्ताको भूमिका खेलेकी रेश्मा राई र प्रहरी योगेन्द्र थपलियासँग चार लाख रुपैयाँका दरले धरौटी मागिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले पक्राउ परेकामध्ये ११ जनालाई मुख्य अभियुक्त र ९ जनालाई सहयोगी ९मतियार० को रुपमा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
मुद्दामा लगाइएको अभियोग ठहर भए ऐनअनुसार मुख्य अभियुक्तलाई ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुनेछ। सहयोगीलाई त्यसको आधा मात्रै कैद र जरिवाना हुने कानुनी व्यवस्था छ।

घटनाको मानव बेचविखन अनुसन्धान ब्युरो र प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेका थिए। मिर्गौला प्रत्यारोपण गराउनेकी बहिनी जमुना राजभण्डारी, मिर्गौला दिन व्यक्ति खोज्ने रेश्मा राई, योगेन्द्रराज थपलिया, भीमप्रसाद खनाल, मिर्गौला लिने व्यक्ति र अर्का आफन्त, पूर्णवीर जोशी, गीतादेवी बतास, रिजनवीर जोशी र मिर्गौला दिने सन्तोष राईलाई मुख्य अभियुक्त बनाइएको छ।

डा. राकेशकुमार वर्मा, डा. भुषणराज तिमिल्सिना, मिर्गौला प्रत्यारोपण समितिका सदस्यहरु डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती, रमेश काफ्ले, रामचन्द्र ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारी नवराज केसी र रामकुमार केसी, ललितपुर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई मतियारको रुपमा सजाय दिन माग गरिएको छ।

यो पनि: 

अवैध मिर्गौला प्रत्यारोपण प्रकरणः अदालतमा बयान सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad