चीनले दक्षिण चीन सागरमा खटिएका आफ्ना सैनिकलाई अमेरिकी विमान तथा जहाजमाथि पहिलो आक्रमण नगर्न निर्देशन दिएको छ।
पछिल्लो समय दुवै मुलुकबीच तनाव बढ्दै जाँदा नचिताएको सैन्य मुठभेड हुनसक्ने आकलन गरी चिनियाँ जनमुक्ति सेनाले आफ्ना सैनिकहरुलाई यस्तो आदेश दिएको साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उल्लेख गर्दै जनाएको छ।
पोस्टका अनुसार बेइजिङले आफ्ना पाइलट तथा नौसैनिक अधिकारीहरुलाई अमेरिकी विमान तथा जहाजसँग हुने जम्काभेटमा संयमता अपनाउन निर्देशन दिएको हो।
गत महिना अमेरिकाले एकै पटक दुई वटा विमानवाहक जहाज दक्षिण चीन सागरमा पठाएपछि चीनले पनि सैन्य गतिविधिमा वृद्धि गरेको छ।
‘गोली चलाउने आदेश दिन सजिलो छ। तर, त्यसको परिणाम जे हुन्छ, त्यसलाई रोक्न न चीन न अमेरिकाले नै सक्नेछ। अहिलेको अवस्था निकै तनावपूर्ण र निकै खतरनाक छ,’ चिनियाँ सेनाको स्रोतले भनेको छ।
गतसाता अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरुबीच भएको फोनवार्तामा पनि चीनले आफूले पहिले आक्रमण नगर्ने सन्देश दिएको बताइएको छ।
सन् २००१ मा हाइनानमा चिनियाँ विमान र अमेरिकी जासुसी विमान ठोक्किएको थियो। सो घटनामा एक चिनियाँ पाइलट मारिएका थिए भने अमेरिकी विमान हाइनानमै आपतकालीन अवतरण गर्न बाध्य भएको थियो। त्यसपछि २४ अमेरिकी सैनिकलाई चीनले नियन्त्रणमा लिएको थियो र पछि वार्तापछि छाडिएको थियो।
‘अहिले त चिनियाँ सेनाले निकै विकास गरिसकेको छ। अहिले त्यस्तो घटना हुने हो भने अमेरिकी जिउँदै फर्किन सक्ने अवस्था छैन,’ स्रोतको भनाइ एससीएमपीले उधृत गरेको छ, ‘तर, हामी अन्तिम विकल्पका रुपमा मात्रै बलप्रयोग गर्नेछौँ।’

प्रतिक्रिया