समाज


बागलुङमा भित्रिए मरेका कुखुरा

बागलुङमा भित्रिए मरेका कुखुरा

नेपालखबर
साउन २७, २०७७ मंगलबार ६:२३,

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन्।

सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ।

सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा ५०० कुखुरामध्ये ३० मरेको र ४० बिरामी परेको पाइएपछि मरेका कुखुरा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लामा अवैध तरिकाले भित्रिएका कुखुरामध्ये मरेका कुखुरा काट्दै गरेको फेला पारेपछि स्थानीयवासीले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराएको स्थानीय गङ्गा पुनले जानकारी दिए। मरेका कुखुरा भित्रिएको खबर पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन्।

मरेका कुखुरा भित्र्याएर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्राचार गरेको र व्यवसायीलाई अन्य कुखुरा बिक्री वितरण गर्न रोक लगाएर गोदाममै राख्न भनेको नगरपालिकाका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिए।

यद्यपि स्थानीयवासीले सबै कुखुरा नष्ट गर्न माग गरेका छन्। नगरपालिकाले रोक लगाएको वस्तु बजारमा आउँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ। स्थानीय गङ्गा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नुपर्ने बताए।

व्यवसायीले अप्रत्यक्षरूपमा यसअघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर बिक्री वितरण गर्दै आएको स्थानीयवासीको आरोप छ। नागरिकको खाद्य अधिकारमाथि खेलबाड भएको भन्दै अवैध कुखुरा आयात गर्ने र मरेका कुखुरा बिक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए।

बागलुङ बजारको लालीगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रिन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको जानकारी आएपछि तत्कालै कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। उनले नगरपालिकाले नष्ट गर्न पत्रचार गरेअनुसार मरेका सबै कुखुरा नष्ट गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad